सुक्खा बन्दरगाह तीन हजार कन्टेनर थन्किए, शुल्क बढायो तर सुबिधा बढाएन

  पुष २८, २०७७

वीरगञ्ज, पुस २८ : वीरगञ्जको सिर्सियामा रहेको सुक्खा बन्दरगाहमा पछिल्लो समयमा तीन हजार कन्टेनर थन्किएर रहेका छन् । करिब १५ सय ३० वटा कन्टेनर राख्ने क्षमता रहेको सुक्खा बन्दरगाहमा पछिल्लो दिनमा करिब करिब दोब्बर कन्टेनर थन्किएर रहेका हुन् ।

गएको भदौ महिनादेखि सुक्खा बन्दरगाह आगामी पाँच वर्षका लागि सञ्चालनको ठेक्का पाएको भारतीय कम्पनी प्रिस्टिन भ्याली ड्राइपोर्ट प्रालिले शुल्क बढाए पनि सुबिधा नबढाएकाले पहिले जस्तै कन्टेनर थन्किनेक्रम जारी रहेको छ ।

सरदरमा दैनिक तीनवटा ट्रेन आउने सुक्खा बन्दरगाहमा सरदरमा ढेड सय कन्टेनर आउने गरेको बन्दरगाह सञ्चालक कम्पनी प्रिस्टिन भ्याली ड्राइपोर्ट प्रालिका प्रबन्धक मध्येका एक विकास शर्माले बताउनुभयो । दैनिक १ सय ३० को हाराहारीमा कन्टेनरहरु सुक्खा बन्दरगाहबाट बाहिरिने गरेकाले सुक्खा बन्दरगाहमा कन्टेनरको सख्या बढेको उहाँले बताउनु भयो ।

दिउसो २ बजे पछि राती १० बजेसम्म सम्म मात्र सुक्खा बन्दरगाहले कन्टेनर बोकेका ट्रक, लरीलाई छुट पुजी दिने भएकाले कन्टेनरको बाहिरिने संख्या कम हुने गरेको दाबी गर्दै शर्माले भन्नुभयो साँझ ६ बजे देखि साढे ८ बजे सम्ममा एक सय मालवाहक सवारी सुक्खा बन्दरगाहबाट निस्किने गरेका छन् । राती र बिहान पनि बन्दरगाह सञ्चालनको व्यवस्था भएमा अझ सहज हुने उहाँको सुझाव रहेको छ ।

अहिले वीरगञ्ज स्थित सुक्खा बन्दरगाहमा १२ सय मालसामानले भरिएका कन्टेनर थन्किएर बसेको र करिब १८ सय खाली कन्टेनर फिर्ता जान लाईनमा रहेको बन्दरगाह सञ्चालक कम्पनी प्रिस्टिन भ्याली ड्राइपोर्ट प्रालिका प्रबन्धक शर्माले जानकारी दिनुभयो । बन्दरगाहमा कार्गो व्यवस्थापन बापत सेवाग्राहीबाट लिइने प्रत्येक शीर्षकमा बन्दरगाह सञ्चालक कम्पनी प्रिस्टिन भ्याली ड्राइपोर्ट प्रालिले गरेको १० प्रतिशत शुल्क वृद्धिमा व्यवसायीहरु असन्तुष्ट रहेका छन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले कोरोनाका कारण उद्योग व्यापारको दयनिय अवस्था रहेकाले शुल्क बढाउनु असान्दर्भिक भएको तर आफूहरुले आवाज उठाउदा कसैले सुनवाई नगरेको गुनासो गर्नुभयो । निजीक्षेत्र कोरोनाको कारण थला परेको बेलामा अझ शुल्क बढाएर समस्यामाथि समस्या थप्नु हुदैन वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष केडियाले भन्नुभयो ।

व्यवसायी एंव वीरगञ्ज उद्योग वाणिज्यसंघका महासचिव माधव राजपालले भन्नुभयो ‘आयात र निर्यातको गोदामका लागि यसअघि आयातकर्ताले सबै कार्गोका लागि ६ दिन निःशुल्क समय पाउने गरेकोमा प्रिस्टिनले त्यसलाई तीन दिनमा झारेको छ । ‘एक -याक कार्गोमा २५ सय मेट्रिक टन मालसामान हुने र त्यसलाई ३ दिनमा खाली गर्न दिनमा कम्तीमा ४० ओटा ट्रकमा ओसार्नु पर्ने हुन्छ,’
सुक्खा बन्दरगाहमा पार्किड र गोदामको निःशुल्क समयमा गरिएको परिर्वतन पनि ठेक्का सम्झौताअनुसार नै रहेको बन्दरगाह सञ्चालक कम्पनी प्रिस्टिन भ्याली ड्राइपोर्ट प्रालिका प्रबन्धक मध्येका शर्मालाई उद्धृत गर्दै गोरखापत्र अनलाइनले जनाएको छ ।

तपाईको प्रतिक्रिया