‘पल्सर स्पोर्टस अवार्ड’ को तयारी पूरा

  पुष २७, २०७७

काठमाडौं, पुस २७ : सत्रौँ संस्करणको ‘पल्सर स्पोर्टस अवार्ड’ वितरणको तयारी पूरा भएको छ । आयोजक नेपाल खेलकूद पत्रकार मञ्च (एनएसजेएफ)ले आज एक विज्ञप्ति जारी गर्दै मङ्गलबार ललितपुरको सातदोबोटोस्थित कराते हलमा आयोजना गरिने अवार्ड कार्यक्रमको तयारी पूरा भएको जनाएको हो । कोरोना भाइरसको महामारीका कारण उक्त कार्यक्रम सेमी भर्चुअलका रुपमा आयोजना हुनेछ ।

उक्त कार्यक्रममा खेलाडी, प्रशिक्षक तथा खेलकूदको क्षेत्रमा योगदान दिएका १० विधाका व्यक्तित्वलाई पुरस्कार प्रदान गरिने छ । मञ्चले यसअघि नै ‘पिपल्स च्वाइस’, वर्ष पुरुष, महिला, युवा र वर्ष प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरिसकेको छ । ‘पिपल्स च्वाइस’ विधातर्फ पौडीकी गौरिका सिंह, करातेका मण्डेकाजी श्रेष्ठ, भलिबलकी अरुणा शाही, बास्केटबलकी सदिना श्रेष्ठ र फुटबलकी सावित्रा भण्डारी मनोनयनमा पर्नुभएको छ ।

यस्तै वर्ष पुरुषको मनोनयनमा फुटबलका विकेश कुथु, एथलेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ, करातेका मण्डेकाजी श्रेष्ठ र गल्फका सुवास तामाङ पर्नुभएको छ । यसैगरी वर्ष महिलातर्फ करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, पौडीकी गौरिका सिंह, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङ मनोनयनमा पर्नुभएको छ । वर्ष युवा खेलाडीतर्फ भारोत्तोलनकी सञ्जु चौधरी, तेक्वान्दोकी सिना लिम्बू मादेन, गल्फका सुवास तामाङ, जुडोकी पुनम श्रेष्ठ र तेक्वान्दोका भूपेन श्रेष्ठ मनोनयन पर्नुभएको छ ।

यस्तै वर्ष प्रशिक्षकतर्फ उसुका अमरकुमार थिङ, करातेका मदन उप्रेती, तेक्वान्दोका नवीन श्रेष्ठ, बक्सिङका प्रकाश थापामगर र पौडीका शङ्कर कार्की मनोनयनमा पर्नुभएको छ । मञ्चका सचिव एवं खेलाडी छनोट समितिका संयोजक गोविन्द रेग्मीका अनुसार वर्ष पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नुहुनेछ । अन्य विधाका विजेतालाई जनही रु ५० हजारसहित पुरस्कृत गरिनेछ । मनोनयनमा परेका खेलाडीको उत्कृष्टताको छनोट भोटिङ, फेसबुक लाइक, आयोजक संस्थाका पत्रकारको भोट तथा राष्ट्रिय सङ्घका मुख्य प्रशिक्षकको भोटका आधारमा हुने मञ्चका महासचिव प्रज्ज्वल ओलीले जानकारी दिनुभयो । भोटिङ आज राति १२ बजेसम्म गर्न सकिनेछ ।

वर्षको उत्कृष्ट खेलाडी युवा, महिला र पुरुष, वर्षको उत्कृष्ट प्रशिक्षक, पारा एथलिट अवार्ड, स्पेसल अवार्ड, लाइभ टाइम अचिभमेन्ट अवार्ड, वर्षको उत्कृष्ट टोली, पिपल्स च्वाइस र एसियन जर्नालिस्ट अफ द इएर अवार्ड प्रदान गरिने छ । पिपल्स च्वाइस अवार्ड, स्पेसल र लाइभ टाइम अचिभमेन्टबाहेक अरू अवार्ड अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा प्रदान गरिनेछ । अवार्डको मुख्य प्रायोजन मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनीले गरेको छ ।

तपाईको प्रतिक्रिया