कामदारको नाममा नक्कली फर्म दर्ता गरी सवा एक अर्बबढी राजश्व छली

  पुष २६, २०७७

काठमाडौँ, पुस २६ : सरकारको छानबिनबाट बच्नका लागि व्यापारीले कामदार तथा मजदुरका नाममा समेत मूल्य अभिवृद्धि कर (भ्याट) नम्बर तथा बैंक खाता खोलेर ठगी गर्ने पाइएको छ । राजश्व अनुसन्धान विभागले गरेको अनुसन्धानका क्रममा त्यस्तो बदमासी देखिएको हो ।

विभागले आज उच्च अदालत पाटनमा एक व्यवसायीविरुद्ध दायर गरेको मुद्दामा जोडिएका केही व्यक्ति कामदार तथा श्रमिक रहेको पाइएको छ । नक्कली भ्याट बिल बनाई राजश्व छली गरेको अभियोगमा विभागले न्यू सयपत्री इन्टरप्राइजेजका सञ्चालक मनिषुकमारसमेत १५ जनाविरुद्ध एक अर्ब २२ करोड २० लाख १९ हजार १९ बराबरको ठगी गरेको पाएको हो ।

न्यू सयपत्री इन्टरप्राइजेजलगायत विभिन्न १३ वटा फर्म कमजोर आर्थिक अवस्थाका मजदुरको नाममा दर्ता गरिएको पाइएको छ । आर्थिक हैसियत नै नभएका व्यक्तिको नाममा नक्कली फर्म दर्ता गरी राजश्व चुहावट एवं भ्याट छली गरेको पाइएको छ । यस्तै विभागले संकित जनरल सप्लायर्सका सञ्चालक सुबोध साहविरुद्ध पनि १२ करोड ७५ लाख ५१ हजार ६१४ बराबरको भ्याट छली गरेको आरोपमा मुद्दा दायर गरेको राससले जनाएको छ ।

तपाईको प्रतिक्रिया