भारतमा कोरोनाविरुद्धका दुई खोप प्रयोगका लागि अनुमति

  पुष १९, २०७७

काठमाडौं, पुस १९ : भारतमा कोरोनाविरुद्धको दुई ओटा खोप प्रयोगको अनुमति पाएको छ । भारतको औषधि नियामक निकायले भारत बायोटेकले उत्पादन गरेको र आष्ट्रा जेनेकासँगको समन्वयमा उत्पादित सिरम इन्स्टिच्युटको खोपलाई प्रयोगको अनुमति दिएको हो ।

विज्ञहरुको सिफारिसका आधारमा दुवै खोपलाई स्वीकृति दिइएको भारतको औषधि नियन्त्रकको कार्यालयले आइतबार जनाएको छ । कार्यालयको निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा खोप कति सुरक्षित छ भन्ने एकिन गरेर मात्रै स्वीकृति गरिएको अधिकारीहरुले बताएका थिए । सुरक्षाको विषय आफूहरुको मुख्य चासो भएको उनीहरुको भनाई थियो ।

खोपले कुनै हानि नगरे पनि केही सहायक असर भने गर्न सक्ने अधिकारीहरुले बताएका छन् । सामान्य ज्वरो आउने र अन्य खोप लगाउँदा झैं सामान्य दुखाइ लगायतका पीडा हुने उनीहरुको भनाइ छ । सेरमको खोपले जनवरी १ र २ तारिखमा तोकिएको मापदण्ड पूरा गरेको पनि नियन्त्रकको कार्यालयले जनाएको छ । यो खोप २३ हजार ७४५ जनामा परीक्षण गर्दा प्रभावकारी नजिता दिएको देखिएको सेरमले दावी गरेको छ । परीक्षणमा १८ वर्ष वा सो सरहदेखि त्योभन्दा धेरै उमेरका मानिसहरु सहभागी भएका थिए ।

परीक्षण गर्दा सेरमको खोपले औसतमा ७०.४२ प्रतिशतसम्म काम गरेको पाइएको अधिकारीहरुले जनाएका छन् । यसको परीक्षण तेस्रो चरणसम्म भएको थियो । सामान्य वा नियमित अवस्थामा भने यी खोपहरु प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ । यसको विकास र परीक्षणको काम अझै पनि जारी रहेको छ । भारत बायोटेकको खोप भने आइसिएमआर र नेसनल इन्स्टिच्यूट अफ भाइरोलोजीले संयुक्त रुपमा विकास गरेका हुन् ।

विश्वभरि नै राम्रो मानिएको प्रणाली मार्फत यसको विकास गरिएको पनि अधिकारीहरुले जनाएका छन् । सेरम र भारत बायोटेकका खोपहरु दुई डोज लगाउनुपर्नेछ भने यी खोपहरु २ देखि ८ डिग्री सेल्सियसमा भण्डार गर्न सकिनेछ ।

तपाईको प्रतिक्रिया