लुम्बिनीमा मट्टितेल ट्याङ्क भण्डारण निर्माणको काम सकियो

  पुष १९, २०७७

काठमाडौँ, पुस १९ : नेपाल आयल निगमले प्रादेशिक कार्यालय लुम्बिनीमा मट्टितेल ट्याङ्क भण्डारण निर्माण गरेको छ । हाल भलवारीस्थित कार्यालयको डिपोमा मट्टितेल भण्डारण गर्दै आएकामा ट्याङ्कलाई पेट्रोलमा रुपान्तरण गर्न नयाँ भण्डारण निर्माण गरिएको हो । 

निगमले मट्टितेल भण्डारणका लागि छुट्टै १४० किलोलिटर क्षमताका दुईवटा ट्याङ्क निर्माण गरेको छ । रु एक करोड लगानीमा सो ट्याङ्क निर्माण गरिएको निगमका कार्याकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो । पेट्रोलको भण्डारण क्षमता कम हुँदा मागअनुसार आपूर्ति गर्न नसकेपछि निगमले मट्टितेल ट्याङ्कलाई पेट्रोलमा रुपान्तरण गर्न लागेको हो ।

 डिपोमा पेट्रोलको भण्डारण क्षमता जम्मा १४० किलोलिटर रहेको तर खपत करिब २०० देखि ३०० किलोलिटरसम्म हुने गरेपछि मट्टितेल ट्याङ्कलाई पेट्रोलमा रुपान्तरण गर्न लागिएको हो । जसबाट पेट्रोलको भण्डारण क्षमतामा करिब तीन गुनाले वृद्धि भई करिब तीन दिनको आपूर्ति धान्न सक्नेछ ।

उक्त डिपोबाट हाल लुम्बिनी प्रादेशका गुल्मी, पाल्पा, अर्घाखाची, नवलपरासी, रुपन्देही, कपिलवस्तु, गण्डकी प्रादेशको स्याङ्जाको पश्चिम भेग र बाग्लुङका केही भाग गरी आठ जिल्लामा अवस्थित पेट्रोल पम्पलाई पेट्रोलियम पदार्थ वितरण हुँदै आएको छ ।

भारतको बेतालपुर, गोण्डा, मुगलसराय र नेपालको अमलेगञ्ज डिपोबाट डिजेल, पेट्रोल र मट्टितेल आयात एवं प्राप्ति गरी बिक्री वितरण गर्ने गरिएको छ ।  यसैगरी प्रत्येक उपभोक्ताको घरघरमा खाना पकाउने एलपिजी ग्यास इन्डियन आयलका हल्दिया, पारादिप, बरौनी र मथुरा रिफाइनरीबाट आयात गरी एल.पि.जि.बोटलिङ प्लान्टलाई बिक्री वितरण गर्ने गरिएको छ ।

उक्त क्षेत्रमा हाल पेट्रोलियम पदार्थको मागमा वार्षिक करिब १२ प्रतिशतका दरले वृद्धि हुदै गइरहेको छ । औसत रुपमा दैनिक १२ लाखदेखि १३ लाख लिटरसम्म पेट्रोलियम पदार्थको बिक्री वितरण हुँदै आएको प्रादेशिक कार्यालय लुम्बिनी डिपोका प्रमुख प्रलयांकर आचार्यले जानकारी दिनुभयो ।    
    
निगमले डिपो परिसर तथा उक्त क्षेत्रका पेट्रोल पम्प, स्थानीय क्षेत्रमा हुनसक्ने आगलागीको नियन्त्रण गर्न पानी र केमिकल फोम मिश्रित छ हजार लिटर क्षमताको अत्याधुनिक दमकल खरिद गरी सञ्चालनमा ल्याएको छ ।   

तपाईको प्रतिक्रिया