अल्ट्रा लाइटबाट सुन्दर पोखराको दृश्य : ‘वाउ’ पोखरा कति सुन्दर

  मंसिर ०६, २०७७

पोखरा, मंसिर ६ : काठमाडौबाट पोखरा अल्ट्रा लाइट उडानकै लागि आउनुभएका थापाथलीका निश्चल रिजाल अल्ट्रा लाइटको मजा एकपटक सबैले लिनुपर्ने बताउनुहुन्छ । शुक्रबार साँझ पोखरा आउनुभएका रिजाल शनिबार पोखराको आकाशमा अल्ट्रा लाइटबाट नियाल्दा वास्तविक सुन्दरता थाहा भएको प्रतिक्रिया दिनुभयो ।

“हिजो साँझ आएँ, अहिले उडिसकेर काठमाडौ फर्कदैछु, शुरुमा उड्न लाग्दा हल्का डरजस्तो लागेको थियो तर उडिसकेर पोखराको दृश्यावलोकन माथिबाट नियाल्दै निकै आनन्द लाग्यो । ‘वाउ’ पोखरा कति सुन्दर छ ।’ उहाँले भन्नुभयो, मेरो पनि घर पोखरामा भएको भए, रिजालले भन्नुभयो । रिजाल जस्तै अल्ट्रालाइट उडने जाेसुकैले पोखराको सुन्दतरतालाइ तारिफ नगरी बस्न सक्दैनन् ।

पोखरामा थलिएको पर्यटनलाई चलायमान बनाउने उद्देश्यले विशेष सहुलियत दिएर साहसिक खेल ‘अल्ट्रालाइट’ ५० प्रतिशत छुटका साथ सञ्चालनमा आएको छ । कोरोना भाइरस महामारीका कारण ८ महिनादेखि बन्द रहेको साहसिक खेल केही दिन अगाडिबाट सञ्चालनमा ल्याएको पोखरा अल्ट्रालाइटका सञ्चालक पोमनारायण श्रेष्ठले जानकारी दिनुभयो । स्वदेशी पर्यटकलाइ चलायमान बनाउने प्रयास गरेका छौ, यसले पर्यटनमा ईंटा थप्ने काम गर्ला भन्ने विश्वास छ, ।

उहाँले यस अगाडि नौ हजार शुल्क लाग्ने अल्ट्रा लाइटले अहिले भने ५५ सय रुपैयाँमा उडान सेवा दिइरहेको बताउनुभयो । लगभग ५० प्रतिशत छुट दिएका छौं, आन्तरिक पर्यटकलाई जोड दिएका हौ, केही काठमाडौ र धेरै पोखराबाट विद्यार्थीहरु बढी मात्रामा आउनुभएको छ ।
पहिला शुल्क महङ्गो भएकाले होला स्वदेशीभन्दा विदेशी बढी आउने गरेका थिए भने अहिले स्वदेशीलाई सहुलियत दिएको श्रेष्ठले बताउनुभयो । उहाँले पोखराका अल्ट्रा लाइटहरुले विशेष छुट दिइरहेको बेला इच्छुकहरुले यसको शयर गर्न उहाँले आग्रह गर्नुभयो ।

“यो पूर्णरुपमा सुरक्षित छ, इच्छुक सबैले यसको अनुभव लिन सक्नुहुन्छ, यसरी विशेष छुट दिइरहेको बेला पोखरेलीले आफनो घरदैलोमा भएको अल्ट्रा लाइटको मजा लिनु हुन आग्रह पनि गर्छु , श्रेष्ठले भन्नुभयो । श्रेष्ठका अनुसार पोखरामा ४ वटा अल्ट्रालाइट कम्पनी छन् ।

कोरोनाको महामारीभन्दा पहिला दिनमा १५ देखि २० जना उड्ने गरे पनि अहिले भने दिनमा ५, ६ जना उड्ने गर्छन् । अल्ट्रालाइटले एक पटकमा १५ मिनेटमात्रै उडान गर्ने गरेको बताउनुभयो । पोखरा विमानस्थलबाट उडान गरिने अल्ट्रालाइट पोखराको आकाशमा हिमालको सुन्दर दृश्यावलोकन, सराङकोट, पोखरा फेवताल, स्तुफा लगायत पोखराका रमणिय दृश्यावलोकन गराएर सोही ठाउँमा ल्याएर अवतरण गरिने श्रेष्ठले बताउनुभयो ।

तपाईको प्रतिक्रिया