तनहुँको मानहुँकोटमा आउँछन् हजारौँ पर्यटक, पूर्वाधार थपिँदै

  मंसिर ०६, २०७७

तनहुँ, मंसिर ६ : केही समयअघिसम्म गुमनाम रहेको मानहुँकोटकाे हिजोआज जताततै चर्चा छ । यतिबेला मानहुँकोटमा कमिलाको जस्तै लस्करै मान्छेका ताँती देखिन्छ । दमौली बजार कुहिरोको घुम्टो ओढेको लोभलाग्दो दृश्य हेर्न दैनिक हजारौँ पर्यटक ओहिरिन्छन् ।

एकाएक पर्यटकको भीड लागेपछि व्यास नगरपालिका–५ स्थित मानहुँकोटमा पर्यटकीय पूर्वाधारहरु थप्न तीन तहकै सरकारलाई दबाव परेको छ । पर्यटकीय पूर्वाधारको अध्ययन गर्न मानहुँमा मन्त्री र सांसदको समेत जमघट हुन थालेको छ ।

गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री किरण गुरुङ, प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ किसान, कलिला खान, गण्डकी प्रदेश सभा सदस्य आशा कोइराला र व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेसहितको टोलीले हालै मानहुँमा पुगेर पर्यटकको आकर्षणलाई स्थायित्व दिन थप आकर्षित बनाउने बनाउन गर्नुपर्ने विकासका पूर्वाधारको बारेमा अध्ययन गरिएको छ ।

सङ्घीय र प्रदेशका दुवै प्रतिनिधिले सघाउने प्रतिबद्धता व्यक्त गरेको वडाअध्यक्ष तथा व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले बताउनुभयो । सङ्घीय सरकारले पनि हालै एक टोली अध्ययनको लागि पठाएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले सोचेभन्दा बढी मानिस आएकाले पर्यटन प्रवद्र्धनका गर्न तत्काललाई ३० लाख रुपियाँ विनियोजन गरिएको जानकारी दिनुभयो । बोर्ड बैठकले शौचालय, खानेपानी व्यवस्थापनको लागि तत्कालै २५ लाख र गुरुयोजनाको लागि पाँच लाख गरी उक्त रकम व्यवस्था गरेको नगरप्रमुख न्यौपानेले जानकारी दिनुभयो ।

हरेक शहीद दिवसमा मानहुँबाट शहीदहरुको गाउँ पुलिम¥याङसम्म म्याराथन दौड प्रतियोगिता गरिएको नगर प्रमुख न्यौपानेले जानकारी दिनुभयो । पच्चीस लाख रुपियाँको लागतमा रेलिङबार निर्माण गरिएको र ३७ लाखमा भ्यू टावर, चमेना गृह निर्माण भइरहेको उहाँले जानकारी दिनुभयो ।
मानहुँकोटको सार्वजानिक जग्गा संरक्षण गर्न दुई महिनासम्मको लागि जग्गा किनबेच प्रतिबन्ध लगाइएको उहाँले बताउनुभयो ।

कोरोना भए पनि विगतभन्दा भीड बढी
कोरोना भाइरसको सङ्क्रमणले देशका अन्य ठाउँमा चहलपहल कम छ । यहाँ भने आन्तरिक पर्यटक झन् बढी भित्रिएका छन् । विशेष गरी दमौली बजार कुहिरोको घुम्टो ओढेको दृश्य सूर्योदय र सूर्यास्तमा मनमोहक देखिन्छ । दमौली बजारलाई कुहिरोले ढाक्नुलाई धार्मिक प्रसङ्गसँग पनि जोडिएको छ ।

परापूर्वकालमा महर्षि व्यासका पिता पराशर ऋषिले माझीकी छोरी मत्स्यगन्धासँग सम्भोग गर्न लागेको समय लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराइदिएको प्रसङ्गहरु उल्लेख छन् । त्यही कुुहिरोका कारण दशैँयता पर्यटकको संख्या ह्वात्तै बढेको छ । ‘मानहुँको सौन्दर्यले छक्कै बनायो, जता हे¥यो त्यतै रमणीय । स्वर्गकै टुक्राजस्तै लाग्यो’, मानहुँ घुम्न आउनुभएका लोक तथा दोहोरी गायक रितकुमार श्रेष्ठले भन्नुभयो ।

मानहुँकोटबाट धवलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, लमजुङलगायत हिमशृङ्खला देखिन्छन् । सदरमुकाम दमौली बजार, मादी नदी, साँगे खोला, तनहुँ जलविद्युतको ड्याम र निर्माण स्थललगायत मनोरम ठाउँ देखिन्छन् । मानहुँबाट व्यास नगरपालिकाको १४ वटै वडा देखिन्छ ।

‘गतवर्ष पर्यटकीय मौसममा दैनिक दुई-तीन सय हाराहारीमा पर्यटक आउथे, दशैँपछिको पहिलो शनिबार त दश हजारभन्दा बढीको भीड उर्लियो । थामी नसक्नु भीड भयो हामी अचम्ममा प-यौं’, व्यास नगररपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का वडा अध्यक्ष मोहनकुमार श्रेष्ठले भन्नुभयो ।

होटल व्यवसायी उत्साहित
मानहुँकोटमा पर्यटक बढेसँगै दमौली र आसपासका होटलमा व्यापार फस्टाएको छ । त्यसले गर्दा सात महिनासम्म कोरोनाले थला परेको दमौलीका होटल व्यवसायीहरु उत्साहित भएका छन् । ‘कोरोनाको सङ्क्रमणले थिलो परेको अवस्थामा होटल बुक हुन थालेपछि धेरै राहत मिलेको छ’, क्षेत्रीय होटल सङ्घका वरिष्ठ उपाध्यक्ष विकास खनालले भन्नुभयो ।

बिदाको दिन धेरै पर्यटक आउने भएकोले भरिभराउ हुने गरेको खनाल बताउनुहुन्छ । पाहुनालाई बास बसाल्ने क्षमताको होटल मात्रै नभएर दमौली आसपासमा साना चिया पसलमा पनि व्यापार बढेको छ । मानहुँकोटमा पर्यटकको चापले दमौलीका मोटरसाइकल वर्कसप सञ्चालक र टेन्ट भाँडामा दिने व्यापार पनि फस्टाएको छ ।

तनहुँ पर्यटन विकास समितिका उपाध्यक्ष माधवबहादुर पन्त भन्नुहुन्छ, ‘वर्षौदेखि देखेको सपना बल्ल पुरा हुने क्रममा छ, सबै जना एकजुट भएर पर्यटन विकासमा लाग्नु जरुरी देखिएको छ ।’ मानहुँकोटले गर्दा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पनि भीड बढेको बन्दीपुरका पर्यटन व्यवसायीले बताएका छन् ।

‘बन्दीपुर बास बसेर बिहानै मानहुँ जानेहरुको सङ्ख्या बढी छ, एक ठाउँमा बढेको पर्यटनको आकर्षणले अर्को ठाउँमा पनि टेवा पु-याएको छ’, तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर बजार एकाइका सभापति बैँस गुरुङले बताउनुभयो । सदरमुकाम दमौली बजारबाट पृथ्वी राजमार्गमा पर्ने चापाघाटबाट ६ किलोमिटर मोटरबाटो उक्लिएपछि मानहुँ पुग्न सकिन्छ ।

टिकटकले चिनाएको ठाउँ
पछिल्लो समय टिकटक बनाउनेका लागि मानहुँ आकर्षक गन्तव्य बनेको छ । यहाँ बनाएको टिकटक भाइरल भएपछि मानहुँकोट जाने युवायुवतीको सङ्ख्या वृद्धि भएको हो ।
टिकटकमा देखेको मनोरम कुहिरोले लोभ्याएर मानहुँ पुगेको चितवनकी मीना सुवेदी अधिकारीले जानकारी दिनुभयो ।

सामाजिक सञ्जालमा दृश्यहरु देखेर मात्रै मानहुँकोटको बारेमा जानकारी प्राप्त भएको बन्दीपुरका पर्यटन व्यवसायी विकास श्रेष्ठले बताउनुभयो । नजिकबाट प्रकृतिलाई नियालेर टिकटक बनाउन पाइने भएकोले मानहुँकोट रोजाइमा परको व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले बताउनुभयो । गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँका अध्यक्ष तथा गीतकार सागर उदाश मानुुहुँकोट पृथ्वीराजमार्गको नजिक सुगम स्थान र रमणीय भूगोल भएकोले टिकटक र म्यूजिक भिडियो छायाङ्कनको उपयुक्त स्थान भएकोले भीड बढेको बताउनुहुन्छ ।

सङ्क्रमण रोक्न चुनौती
एकै दिन १० हजारभन्दा बढी पर्यटक आउन थालेपछि कोरोना भाइरसको सङ्क्रमण रोक्न स्थानीय प्रशासनलाई चुनौती थपिएको छ । कोरोना भाइरसको जोखिमसँगै मानहुँकोटमा फोहोरमैला व्यवस्थापनमा समेत समस्या देखिन थालेको छ ।

सरकारले तोकेको सुरक्षाको मापदण्ड पालना गर्न मिल्ने गरी स्थानीय तहसँग समन्वय गरी पर्यटक पठाउने गरिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिनुभयो । तीन हजार मोटरसाइकल, बस, जीप गरी दुई सय वटा सवारी साधन बिदाको दिन आउन थालेकोले ट्राफिक व्यवस्थापन गर्न पनि मुस्किल भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशमबहादुर रानाभाटले जानकारी दिनुभयो ।

मानहुँकोटमा पर्यटन पूर्वाधारका लागि संरचना निर्माणको काम भइरहेको समयमा सोचेभन्दा धेरै बढीको घुँइचो लागेकोले तीन सय जनालाई मात्रै जान अनुमति दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिग्देलले जानकारी दिनुभयो । मानहुँको समस्या र थप सम्भावना पत्ता लगाउन नगर कार्यपालिकाको बैठक पनि मानहुँकोटमा बसिसकेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया