सेती प्रादेशिक अस्पतालमा उपचारत दुई कोरोना सङ्क्रमितको मृत्यु

  मंसिर ०५, २०७७

धनगढी, मंसिर ५ : कैलालीमा कोरोना सङ्क्रमित थप दुई जनाको शुक्रबार मृत्यु भएको छ । गौरीगङ्गा नगरपालिका-७ की ७५ वर्षकी एक वृद्धा र धनगढी उपमहानगरपालिका-५ का ५५ वर्षका पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।

सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार मृतक वृद्धा दीर्घरोगबाट पनि ग्रसित हुनुहुन्थ्यो । कात्तिक २९ गतेबाट भेन्टिलेटरमा राखेर उपचार गरिए पनि सङ्क्रमित वृद्धाको ज्यान बचाउन नसकिएको श्रेष्ठले बताउनुभयो ।

यसैगरी धनगढीका पुरुषको पनि उपचारकै क्रममा मध्याह्नतिर ज्यान गएको छ ।  ती मृतक पुरुष पनि दीर्घरोगी हुनुहुन्थ्यो । कात्तिक २५ गतेबाट भेन्टिलेटरमा राखेर उहाँको उपचार थालिएको थियो । योसङ्गै सुदूरपश्चिममा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ३५ पुगेको छ ।

तपाईको प्रतिक्रिया