प्रधानमन्त्रीद्वारा ‘फर्किन् मेरी आमा’ लोकार्पित

  कार्तिक १८, २०७७

काठमाडौं, कात्तिक १८ : प्रधानमन्त्री केपी शर्मा ओलीले स्रष्टा प्रेमनाथ अधिकारीको गीति एल्बमको ‘फर्किन् मेरी आमा’ को आज लोकार्पण गर्नुभएको छ ।

सो गीति एल्बमको प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा विमोचन गर्दै प्रधानमन्त्री ओलीले नेपाली परम्परा र नेपाल एकीकरणका क्रममा पनि गीतका माध्यमले जनतालाई एक सूत्रमा बाँध्ने काम गर्न थालिएकामा खुशी व्यक्त गर्दै यसका पक्षमा जनतालाई निरन्तर जागरुक र सचेत गराउन आग्रह गर्नुभयो ।

“सधैँ सत्यका पछि लाग्नुपर्छ । यस क्रममा एक्लै भए पनि सत्यका पछि लाग्दा अन्ततः सत्यकै विजय हुन्छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “अतिक्रमणमा परेको नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा फिर्ता भएरै छाड्नेछ ।” वर्तमान सरकारकै कार्यकालमा उक्त भूमिलाई नेपालको नक्शामा समावेश गर्ने गरी संविधान संशोधन गराइएको थियो ।

राष्ट्रिय जनसांस्कृतिक महासङ्घका नेता अधिकारी सांस्कृतिक संस्थान ९राष्ट्रिय नाचघर० का अध्यक्षसमेत हुनुहुन्छ । अधिकारीले राष्ट्र, राष्ट्रियता, समृद्ध नेपाल र सामाजिक सद्भावका विषयमा रच्नुभएका लोकभाकासहितका छ गीत एल्बममा सङ्कलन गरिएका छन् ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद् डाविजय सुब्बा र प्रा केशव सुवेदीले गीतकार र गायकलाई शुभेच्छा व्यक्त गर्नुभएको थियो ।

कमला अधिकारीको निर्माण रहेको सो एल्बममा गायक, संकलक तथा रचनाकार अधिकारी हुनुहुन्छ । सङ्गीत संयोजन अशोक लोहरुङ राई गर्नुभएको छ भने गायनमा दुर्गा परियार र विना भट्टराईले साथ दिनुभएको छ ।

यसैबीच प्रधानमन्त्री ओलीसँग आज अभिनेत्री मनिषा कोइरालाले प्रधानमन्त्री निवासमा भेट गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया