तीन हजार शुल्क तिरेर मात्र कोरोना परीक्षण

  कार्तिक १४, २०७७

धादिङ, कात्तिक १४ : आफूमा कोरोना पोजेटिभ भएनभएको परीक्षणका लागि धादिङमा निजी खर्चमा पिसिआर परीक्षण सुरु भएको छ । जिल्ला अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालयले आफू माताहतका कर्मचारीलाई मात्र पिसियार परीक्षण सुरु गरेपछि स्थानीय जनता निजी खर्चमा पिसियार परीक्षण गराउन वाध्य भएका हुन् ।

कोरोना लक्षण देखिएकाहरु मध्ये केहीले काठमाडौँ बोलाएर तीन हजारमा आफ्नो कोरोना परीक्षण गराएका थिए भने केहीले जिल्लामा नै रहेको निजी स्वास्थ्य संस्थाबाट कोरोना परीक्षण गराइ रहेका छन् । कोरोनाको लक्षण देखिएपछि जिल्ला अस्पतालमा आफ्ना पितालाई लिएर पुग्नुभएका मनराज गोदारले आफ्नो पिताको परीक्षण गर्न नपाएपछि निजी एक क्लिनिकमार्फत स्वाव दिने व्यवस्था मिलाउनु भएको अनुभव बताउनु हुन्छ ।

कोरोना पोजिटिभ भएको दुई सातापछि स्वाव दिन कहाँ जानेभन्ने तनावमा रहनु भएका पत्रकार पोषनाथ अधिकारीले २५ सय रुपियाँ तिरेर स्वाव दिएको बताउनु हुन्छ । जिल्ला अस्पतालका प्रमुख महेन्द्र धमलासँग समन्वय गर्दा लक्षण देखिएका र माताहतका कर्मचारीको मात्र स्वाव संकलन गर्ने बताएपछि आफू र आफ्नो परिवारले निजी संस्थामा स्वाव दिएकोे अधिकारीको भनाइ छ । गोदार र अधिकारी जस्तै सयौँका संख्यामा स्थानीयहरुले निजी संस्थामार्फत स्वाव दिएका छन् । जिल्ला अस्पताल मातहत रहेको फिबर क्लिनिकको सिफारिपछि मात्र स्वाव संकलन गर्न सकिने धमलाको भनाइ छ ।

आफूहरुले तीन हजार रुपैयाँ लिएर स्वाव संकलन गरिरहेको नमुना सामुदायिक पोलिक्लिनिकका प्रोपाईटर वालकृष्ण खत्री बताउनुहुन्छ । सुरुका दिनमा २५ सय रुपैयाँमा स्वाव संकलन गरिएको भएपनि अहिले तीन हजार रुपैया शुल्कमा स्वाव संकलन गरिएको खत्रीको भनाइ छ । नमुना सामुदायिक पोलिक्लीनकबाट अहिले सम्म ९७ जनाले पिसिआर परिक्षणको लागि स्वाव संकलन गराएका छन् । काठमाण्डौं स्थित पिभिआईपिएच नामक ल्याबमा परीक्षण गराईने प्रापाईटर खत्रीले बताउनुभयो ।

निजी संघ संस्थाले निजि खर्चमा स्वाव संकलन गरि पिसिआर परिक्षण गर्दा नेपाल सरकाले तोकेको दुईहजारको मापदण्डमा रहेरमात्र संकलन गर्नुपर्ने जिल्ला स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा.भुवन पौडेलले बताउनुभएको छ । डा. पौडेलले वागमती प्रदेश सरकारले निशुल्क स्वाव संकलन र परीक्षण गर्ने भने अनुसार नै स्वाव संकलनको अभियान अगाडि बढाउने बताउनुभयो । धुलिखेल र हेटौँडाको प्रयोगशालमा कीटको अभाव भएका कारण स्वाव संकलनमा केही समस्या आएको पौडेलको भनाइ छ । पैसा तिरेर स्वाव दिनु पर्ने भएपछि लक्षण देखिएकाहरुले परीक्षण गर्न छोडेका छन् ।

तपाईको प्रतिक्रिया