विश्वकै दोस्रो अग्लो बन्जीजम्पसँग जोडिएको बलेवाको पर्यटन

  कार्तिक १३, २०७७

बलेवा, कात्तिक १३ : कालीगण्डकीको खोंचमा द क्लिफ प्रालिले कातिक १५ गतेदेखि बन्जीजम्प सञ्चालनमा ल्याउने भएको छ । पर्वत सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने पाँच सय मिटर पुलमा बन्जी, स्वीङ र स्काइ साइक्लिङ लगायत साहसिक खेल सञ्चालन हुने भएको हो ।

२०७३ सालदेखि पुलको निर्माण सुरु गरिएको थियो । यसअघि पुलसँगै रिसोर्टको निर्माण २०७६ अन्तिममा सकिए पनि लकडाउनले गर्दा सञ्चालनमा आउन नसकेको कम्पनीका द क्लिफ प्रालिका अध्यक्ष राजु कार्कीले जानकारी दिनुभयो । ५२५ मिटर लामो झोलुङ्गे पुलको बीचमा कालीगण्डकी नदीको ठिक माथि बन्जी र स्वीङको लागि जम्प गर्ने प्लाटफर्मको निर्माण गरिएको छ । खोलादेखि पुलको उचाई २२८ मिटर अर्थात ७४८ फिट छ ।

हाल विश्वकै अग्लो बन्जी मकाउमा ७६४ फिट उचाइ र दोश्रो अग्लो स्वीट्जरल्याण्डको भरजस्का बाँध माथि ७२० फिट उचाइमा छ । द क्लिफ प्रालिको यो परियोजनापछि स्विटरल्याण्डलाई पछि पार्दै यसले विश्वकै दोस्रो अग्लो बन्जीका रुपमा आफूलाई दर्ज गर्ने छ भने यहाँको स्वीङ विश्वकै अग्लो बनेको अध्यक्ष कार्कीले बताउनुभयो ।

बन्जी र स्वीङ दुबैको मूल्यरु सात हजार तोकिएको छ । पोखरादेखि कुश्माको दुईतर्फी गाडीको सुबिधासहित बन्जी वा स्वीङको ८ हजार ४ सय ५० रुपैयाँ रहेको छ । टेण्डम ९जोडी० स्वीङको १२ हजार छ । गुलेली शैलीको पिङ बन्जीका लागि निर्माण भएको पुलको उचाइ २ सय २८ मिटर छ भने सोभन्दा माथि बनाइएको पिङको उचाइ नदीबाट २ सय ४८ मिटर छ ।

यसको परिकल्पनाकार राजु कार्की र फोलोरेन्स कार्की हुन् । रिसोर्टसहित रु २० करोड लगानी रहेको यो पुलले बाग्लुङको पर्यटनमा धेरै परिवर्तन ल्याउनेछ । एसियाकै अग्लो स्थानबाट बन्जीजम्प, प्राकृतिक सुन्दरता र कालीगण्डकी खोँचको सुन्दर दृश्य यो पुल र पुलसँग जोडिएका संरचना प्रयोग गर्दा लाग्ने खर्चको उपयोगिता पुष्टि गर्ने माध्याम हुन् । यहाँ सञ्चालनमा रहेको रिसोर्टले पोखरा काठमाडौंका सुविधासम्पन्न स्टार होटेल र युरोपका शहरहरूको रिसोर्ट बसाइको झल्को मेटाउने खालको छ । निजी क्षेत्रको लगानीमा बनेको यो पुलसँगैका संरचनाको प्रयोगमा निश्चित शुःल्क लाग्छ ।

अन्नपूर्ण पदमार्गमा आउने पर्यटकदेखि आन्तरिक पर्यटकको केन्द्र बन्जीजम्प बन्न सक्छ । साहसिक पर्यटनका लागि यहाँ बनेका संरचना नेपालमै अद्भूत छन् । सामान्य लठ्ठेपिङ खेलाउनका लागि समेत प्रयोग भएको प्रविधिले सबैलाई लोभ्याउँछ । २२८ मिटरको उचाइ, कालीगण्डकीले चिरेको पहाडका परिदृश्यमा स्काई साइकिलिङ अर्को पर्यटक लोभ्याउने माध्यम हो ।

बन्जीजम्प गर्दा हिमालको दृश्य देखिने संसारकै एक मात्र स्थल यो बन्न सक्छ । नेपालमै पनि प्राकृतिक नदीमाथि बनाइएका बन्जीहरूबाट नदीको बहाव र हिमाल मुस्कुराएको दृश्य देख्ने अन्यत्र कुनै ठाउँ छैन । बलेवा विमानस्थल, कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग यसका आधार क्षेत्र हुन् । सहज यातायातको व्यवस्था हुँदा पर्यटकहरूलाई प्याकेजमा समावेश गरी यहाँ ल्याउन सकिन्छ । बन्जीजम्पले यहाँका अन्य व्यवसायको क्षेत्रलाई समेत सघाउनेछ भने राज्यको राजस्वमा समेत ठूलो योगदान गर्ने नै छ ।

तपाईको प्रतिक्रिया