बाँकेमा १५७ संक्रमित निको भएर घर फर्किए

  कार्तिक ०९, २०७७

नेपालगञ्ज, कात्तिक ९ : बडा दसैंको पुर्वसन्ध्या आइतवार नवमीका दिन बाँकेका विभिन्न आइसोलेसनबाट एकैदिन १५७ जना संक्रमितहरु कोरोनामुक्त भै घर फर्किएका छन् । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार जिल्लामा एकैदिन यति धेरै संख्यामा संक्रमितहरु निको भएर डिस्चार्ज भएको यो पहिलो पटक हो ।

बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बडा दसैंको एकदिन अघि नवमीका दिन आइतबार बाँकेका ५९ महिला र ९८ पुरुष गरी १५७ जना संक्रमित कोरोनामुक्त भई डिस्चार्ज हुनुभएको बताउनुभयो । उहाँले उहाँहरुलाई असोज २५, २६ र २७ गते कोरोना संक्रमण देखिएपछि जिल्लाका विभिन्न आइसोलेसनमा राखेर निगरानी गरिएकोमा सबैको स्वास्थ्य सामान्य भएका कारण घर पठाईएको बताउनुभयो ।

फोकल पर्सन श्रेष्ठका अनुसार सरकारले संक्रमितहरुमा पछिल्लो तीन दिनमा संक्रमणको लक्षण नदेखिएमा त्यस्ता व्यक्तिहरुलाई १० दिनमै डिस्चार्ज गर्ने र उनिहरू ७ दिन होम आइसोलेसनमा अनिवार्य बस्नु पर्ने मापदण्ड बनाएकोले सोही अनुसार उहाँहरुलाई डिस्चार्ज गरिएको हो ।

यो सङ्गै बाँकेमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या दुई हजार ५१४ पुगेको छ । विभिन्न आइसोलेसन केन्द्रमा अन्य जिल्लाका १८ सहित ४५१ जना अझैपनि उपचाररत हुनुहुन्छ । बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या दुई हजार ९७७ रहेको छ भने ३० जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ ।

सरकारले पाँचसय भन्दा बढी सक्रिय संक्रमित रहेको जिल्लालाई अति जोखिममा राखेपनि बाँकेमा आइतवारबाट ४३३ जनामात्र आईसोलेसनमा बाँकी रहेकाले यो जिल्ला जोखिम मुक्त जिल्ला बनेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुमवांगले बताउनुभयो ।

यसैविच जिल्लामा शनिवार र आइतवार विहान गरेर ३५ जना संक्रमित थपिएका छन् । शनिवार भेरी लगायत जिल्लाका तीनवटै प्रयोगशालामा गरेर ३२ जना थपिएका थिए भने आइतवार विहान ३ जना थप थपिएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया