कोराना सङ्क्रमित महिलाको मृत्यु

  असोज २९, २०७७

सप्तरी, असोज  २९ : यहाँ थप एक कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ ।

कञ्चनरुप नगरपालिका–२ बरमझियाकी ४६ वर्षीया महिलाको आज घरमै मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवले अर्बुद रोगबाट पीडित बिरामीको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा यही असोज २६ गते गरिएको पिसिआर परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको बताउनुभयो ।

अर्बुदरोगलगायत विभिन्न दीर्घरोगबाट पीडित बिरामीमा सङ्क्रमण देखिएपछि धरानका चिकित्सकले अर्बुदरोगको अन्तिम चरणमा रहेको भनी घर फर्काएका थिए ।

शव व्यवस्थापनका लागि नेपाली सेनाको टोली बरमझिया पुगिसकेको नगर प्रमुख वसन्त मिश्रले जानकारी दिनुभयो ।

यससँगै जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुने २३ जना पुगेका छन् ।

सङ्क्रमित हुनेको सङ्ख्या एक हजार ४५६ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

तीमध्ये एक हजार १५१ जना निको भएका छन् ।

तपाईको प्रतिक्रिया