बनेपामा अत्याधुनिक चलचित्र छायाङ्कन स्टुडियो बन्ने

  असोज २७, २०७७

बनेपा, असोज २७ : काभ्रेको बनेपामा अत्याधुनिक चलचित्र छायाङ्कन स्टुडियो निर्माण हुने भएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले काभ्रेको बनेपा नगरपालिका–१० भैँसेपाटीमा अत्याधुनिक इन्डोर छायाङकन स्टुडियो निर्माणको प्रक्रियागत काम सुरु भएको बताउनुभयो । उहाँले उक्त स्थानमा सबैभन्दा पहिला इन्डोरमा सेट लगाउने हिसाबले इन्डोर छायाङ्कनको लागि एउटा भवन निर्माण हुने बताउनुभयो ।

‘आउटडोरबाट देखिने भ्युहरु सुन्दर छन, त्यसलाई ध्यानमा राखेर छायाङ्कन स्टुडियो निर्माण हुन्छ’ अध्यक्ष दाहालले बताउनुभयो । ‘इन्डोरमा अस्पताल, पुलिस चौकी, जेल, ठुलाठुला बिल्डिङका इन्डोर देखि सबै बनाउन मिल्ने प्रोटेबल सेटहरु हुनेछ’ उहाँले थप्नुभयो । दाहालले आउटडोरमा नेपाली चलचित्रको इतिहासको अध्ययन गर्नेहरुलाई जानकारी हुने हिसाबले चलचित्र सम्बन्धी म्युजियम, लाइब्रेरीहरु, स्कृष्ट रिर्सच गर्नेहरुका लागि स्थान, निर्देशन गर्नेहरुका लागि स्थानहरु निर्माण हुने बताउनुभयो ।

स्टुडियोसँगै फिल्मी सम्बन्धी गोष्ठी, सेमिनार तथा क्षमता अभिवृद्धिका कार्यक्रमहरु गर्न सक्ने हलहरुसहितको संरचना निर्माण हुनेछ । ‘त्यहाँ बन्ने संरचनाहरुले उक्त स्थान एक प्रकारले मिनी फिल्म सिटी भन्दा पनि हुन्छ, सुरुवाती चरणमा इन्डोर छायाङ्कन स्टुडियोबाट निर्माणको काम हुन्छ’ दाहालले भन्नुभयो । उहाँले जग्गाको फाइल बन मन्त्रालयमा पुगेको र वातारणीय प्रभाव मूल्याङकन (ईआईए) गर्नुपर्ने काम अघि बढेको र ईआइए टेण्डरको अफिसियल कामहरु अघि बढेको बताउनुभयो ।

स्टुडियो कामको लागि चालु आर्थिक वर्षका लागि दुई करोड बजेट विनियोजन भएको छ । ‘नेपालमा अहिले अत्याधुनिक छायाङ्कन इन्डोर स्टुडियो छैन, चलचित्रको इतिहास अध्ययन गर्ने स्थान छैन, चलचित्र सम्बन्धी म्युजियम छैन, अत्याधुनिक छायाङ्कन स्टुडियो बनेको खण्डमा काभ्रे मात्रै होइन नेपालको लागि फाइदा हुनेछ’ अध्यक्ष दाहालले भन्नुभयो ।

बहुद्देश्यीय परियोजना भएकोले पहिलो चरणमा इन्डोर छायाङ्कन स्टुडियोको डिपिआर बनाई काम सुरु हुनेछ । स्टुडियो निर्माण पछि चलचित्र म्युजियम, लाइब्रेरी, रिभ्यु थिएटर, एडिटिङ, डबिङ गर्ने हल बन्छ, कार्याशाला हल, रिसर्चरहरु बस्ने ठाउँहरु निर्माण हुनेछ । चलचित्र छायाङ्कन स्टुडियोका लागि बनेपा नगरपालिका–१० भैँसेपाटी नजिकैको ४३ रोपनी सार्वजनिक जग्गा छनौट गरिएको छ ।

तपाईको प्रतिक्रिया