वृद्धाश्रममा मास्क र स्यानिटाइजर वितरण

  चैत ०७, २०७६

काठमाडौं, चैत ७ : भरतमोहन अधिकारी स्मृति फाउण्डेशनले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोक्ने उद्देश्यले राजधानीका विभिन्न वृद्धाश्रममा आजदेखि मास्क तथा हात धुने सामग्रीको वितरण शुरु गरेको छ ।

शान्तिनगरस्थित निःसहाय सेवा सदन ज्येष्ठ नागरिक आवास गृह र बुढानीलकण्ठ, गोल्फुटारमा रहेको दिव्य सेवा निकेतन ज्येष्ठ नागरिक आश्रयस्थलका ५० वृद्धवृद्धालाई मास्क, स्यानिटाइजर तथा साबुन वितरण गरिएको फाउण्डेशनकी कार्यसमिति सदस्य लीमा अधिकारीले जानकारी दिनुभयो ।

विश्वभर फैलिएको उक्त रोगबाट वृद्धवृद्धा बढी प्रभावित भएको र मृत्यु हुनेमा पनि वृद्धवृद्धा नै बढी रहेको तथ्याङ्क सार्वजनिक भइरहेकाले आफूहरुको ध्यान वृद्धाश्रममा गएको अधिकारीले बताउनुभयो ।

स्वयंसेवक टोलीमा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट मान्यता प्राप्त विशेषज्ञ स्वास्थ्यकर्मीसमेत संलग्न रहेको फाउण्डेशनले जनाएको छ । कोरोना सङ्क्रमणको त्रास रहुञ्जेल सचेतनामूलक गतिविधि जारी राख्ने जनाएको छ । फाउण्डेशनले उपत्यकाका तीनै जिल्ला काठमाडाँै, ललितपुर र भक्तपुरका सबै वृद्धाश्रममा सामग्री वितरण गर्ने योजना तय गरेको छ ।

पूर्वअर्थमन्त्री एवं कम्युनिष्ट नेता स्व भरतमोहन अधिकारीको नाममा स्थापित फाउण्डेशन सामाजिक कार्यमा सक्रिय छ । अर्थमन्त्री भएका बेला सामाजिक सुरक्षा भत्ता दिन शुरु गरेका कारण अधिकारी वृद्धवृद्धामाझ लोकप्रिय हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया