सरकारले सुपथ मूल्य पसल खोल्ने

  चैत ०७, २०७६

काठमाडौँ, चैत ७ : व्यापारीको कालोबजार नियन्त्रण गर्न सरकारले खाद्य पसलहरू सञ्चालन गर्नेभएको छ । कोरोना भाइरसको त्रास देखाएर खाद्य सामग्रीको भण्डारण गरी कृत्रिम अभाव सिर्जना गर्ने र महँगोमा बेच्ने गरेको गुनासो बढेपछि सरकारले उपत्यकाका पाँच स्थानमा खाद्य पसल सञ्चालन गर्न लागेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले जानकारी दिनुभएको छ ।

सरकारद्वारा बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टले भन्नुभयो, कालोबजारी र कृत्रिम अभाव नियन्त्रण गर्न हामीले पसल खोल्दैछौँ, सुरुमा उपत्यकाका पाँच स्थानमा खोलिने तयारी भएको छ, साल्ट टे«डिङ कर्पोरेसन लिमिटेडलगायतका निकायलाई पसल खोल्न दिइने सहमति भएको छ, पसल एक÷दुई दिनमै सञ्चालनमा आउने छन् ।

ती पसलको मूल्य सस्तो हुने र उपभोक्ताले सही मूल्यमा सहज तरिकाले सामग्री पाउने मन्त्री भट्टको भनाइ छ । आयात नियमित र सहज भइरहँदा पनि बजारमा कृत्रिम अभाव देखाउन खोजिएको र मन्त्रालयले बजार अनुगमन तीव्र बनाएपछि बजार सहज भइसकेको उहाँको दाबी छ । मन्त्री भट्टले भन्नुभयो, “प्राविधिक कारणले चाप भयो, अलिकति अभाव हुन थालेजस्तो देखिए पनि हामीले अनुगमन गरेर न्यूनीकरण गरियो, अहिले बजार सामान्य अवस्थामा छ, पेट्रोलको लाइन छैन ।”

खाद्यवस्तुमा अभाव नरहेको तर स्टोर गर्ने प्रवृत्तिले समस्या देखिएको उहाँको भनाइ छ । बजारको व्यवस्थापनमा अलिकति समस्या देखियो तर अभाव भने छैन । मन्त्री भट्टका अनुसार नेपाललाई चारदेखि छ महिनासम्म पुग्ने खाद्यान्न छ । नुन १० महिनालाई पुग्दो छ । साल्ट ट्रेडिङमा मात्र तीन महिनालाई पुग्ने चिनी छ ।

मास्क, सेनिटाइजर विगतमा हस्पिटलमा मात्र प्रयोग हुनेगरी आयात गरिन्थ्यो तर अहिले एक्कासि माग बढेपछि तत्कालका लािग अभाव देखिए पनि बजारमा किन्न पाइने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । पेट्रोलिय पदार्थ र ग्यास वितरणमा कुनै समस्या नरहेको जति माग गरे पनि वितरण गर्न सक्ने अवस्थामा रहेको उहाँको भनाइ छ ।

तर सुरक्षाका हिसाबले जोखिम हुने भएकाले ग्यास, पेट्रोल स्टोर गर्ने कामले घरमा ठूलो दुर्घटना निम्त्याउँछ सचेत हुन जरुरी छ, बिहीबार पेट्रोलियम पदार्थको बिक्री वितरण सामान्य भएको छ । पम्पहरूमा लाइन छैन ।

तपाईको प्रतिक्रिया