अज्ञात रोगबाट अकालमा दुई नाबालकको मृत्यु

  चैत ०७, २०७६

बाजुरा, चैत ७ : यहाँको स्वामिकार्तिक खापर गाउँपालिकामा अज्ञात रोगबाट दुई नाबालकको अकालमा मृत्यु भएको छ । वडा नं २ पुडेनीका चतुरे थापाका चार महिनाको छोरा खम्वीरसिंह थापा र वडा नं १ मुक्तिकोटका भर्बले विकको पाँच महिनाकी छोरी डम्मकला विकको मृत्यु भएको स्थानीय आनन्द बुढाले जानकारी दिनुभयो ।

उहाँका अनुसार खम्वीरसिंह थापाको चैत ५ गते र डम्मरकला विकको चैत ३ गते दिन मृत्यु भएको हो । अहिले सो गाउँपालिकाको वडा नं १ र २ का बालबालिका तथा वृद्धवृद्धा बिरामी परेको बताइएको छ । ज्वरो आउने, खोकी लाग्ने र हातखुट्टा दुख्ने लक्षण देखिएको गाउँपालिका उपाध्यक्ष मीना बुढाले जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले प्रभावित गाउँमा स्वास्थ्यकर्मी परिचालन भएको जानकारी दिनुभयो । यसैगरी चुवाना, छुदरी, सुपेना, फयालगाउँ, वाउनवाडा, माझगाउँ, पुडेनी, लौडीसहितका गाउकाँ बासिन्दा बिरामी पर्न थालेका छन् । गत माघ महिनामा ती गाउँमा भाइरल ज्वरोको सङ्क्रमण देखिएको थियो । गाउँमा बिरामीको सङ्ख्या धेरै रहेको जानकारी आएको र गाउँपालिकासँगको सहकार्यमा टोली गइसकेकाले प्रमुख पन्तले जानकारी दिनुभयो । अहेब विर्ज विकसहितको टोली प्रभावित गाउँमा पुगिसेको उहाँले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष चिरञ्जीवी शाहीले दुईनाबालकको मृत्यु भएको र केही बिरामी परेको जानकारी पाएलगत्तै स्वास्थ्यकर्मी परिचालन गरी उपचार शुरु गरिएको बताउनुभयो । गाउँपालिका केन्द्रबाट प्रभावित क्षेत्र अढाइ घण्टाको पैदल दूरीमा पर्छ । प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले पनि सङ्क्रमण फैलिएको खबर प्राप्त भएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले स्वास्थ्यकर्मी प्रभावित भनिएको गाउँतिर पठाइसकेको जानकारी दिनुभयो ।

चार स्थानमा हेल्थ डेक्स
कोेभिड–१९ को जाँचका लागि चार स्थानमा स्वास्थ्य सहायता कक्ष( हेल्थ डेक्स) स्थापना गरिने भएको छ । प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले जिल्लाभित्र प्रवेश गर्ने नाकामा हेल्थ डेक्स सञ्चालन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी न्यौपानेले जानकारी दिनुभयो ।

जिल्ला विपद् व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले कोल्टी विमानस्थल कोल्टी, जगन्नाथ गाउँपालिकाको जुड्डी, बाह्विसको इकडी र मार्तडी प्रवेश नाकामा हेल्थ डेस्क सञ्चालन गर्न लागिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी समिर भण्डारीले जानकारी दिनुभएको छ ।

कोरोना सङ्क्रमणको जोखिमबाट जोगिनका जिल्लाका स्थानीय तह र सबै कार्यालयलाई प्रचारप्रसारमा तीव्रता दिन प्रशासनले आग्रह गरेको छ । नौ वटै स्थानीय तहले प्रतिकार्य योजना बनाएर चैत मसान्तभित्र जिल्ला विपद् व्यवस्थापन समितिलाई बुझाउन र स्वास्थ्यकर्मीलाई आपतकालीन समयबाहेक बिदा नलिन प्रशासनले पत्राचारसमेत गरेको छ ।

जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयले उद्धार टोली तयारीमा राख्ने भएको छ । कोरोना भाइरस सङ्क्रमणको जाँच गर्ने थर्माेमिटरसहित अन्य आवश्यक सामग्री नभएकाले डेस्क सञ्चालनमा ढिलाइ हुने भएको छ ।

सो भाइरसबाट बच्न साबुनपानीले हात धुने, अङ्कमाल नगर्ने, सभा सम्मेलनमा सहभागी नहुने, भीडभाडमा नजान सर्वसाधारणलाई जिल्ला अस्पतालका प्रमुख डा रुपचन्द्र विश्वकर्माले आग्रह गर्नुभएको छ । कोरोना सङ्क्रमण नियन्त्रणका लागि अस्पतालले प्रवेशमा एकद्वार प्रणालीको रणनीति अपनाएको छ ।

तपाईको प्रतिक्रिया