जिप दुर्घटनामा ९ घाइते, उपचारका लागि हेलिकप्टरमा मणिपाल लगिँदै

  चैत ०७, २०७६

म्याग्दी, चैत ७ : जिल्लाको रघुगंगा गाउँपालिका–४, दग्नाममा शुक्रबार बिहान जीप सडक देखि १० मिटर तल खसेर दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । दग्नामबाट बेनीतर्फ आउँदै गरेको ग२च ५९८८ नम्बरको बोलेरो जीप अचानक दुर्घटना हुँदा जीपमा सवार नौ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

जीप दुर्घटनामा परी गम्भीर घाइते भएका दग्नामका ४१ वर्षीया भदेवी गर्बुजा र ९ वर्षीया मिन्जा पुनलाई बेनी अस्पतालमा सामान्य उपचार पछि एअर डाइनेष्टिकको हेलिकप्टरमार्फत मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको म्याग्दीका प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले जानकारी दिनुभयो ।

दुर्घटनामा परेर घाइते हुनेहरुमा दग्नामका ३० वर्षीय हमाया पुन, ७ वर्षीय बालक युबी गर्बुजा, ५० वर्षीय मनबहादुर तिलिजा, ३ वर्षीया वर्षा शेरपुन्जा, १२ वर्षीया तामिना शेरपुन्जा र ५ वषीय असिम गर्बुजा रहेका छन् । घाइते सबैको अहिले बेनी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको टाउको, हात, आँखा र शरिरका विभिन्न भागमा चोटपटक लागेको स्वास्थ्यकर्मीले बताएका छन् । जीपका चालक पूर्णबहादुर शेरपुन्जा प्रहरी नियन्त्रणमा रहेको प्रहरीले बताएको छ । दुर्घटनाको कारण बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया