कोरोनाको प्रभाव : उपत्यकाबाट दैनिक २ लाख बाहिरिँदै, रुट परमिट खुला

  चैत ०७, २०७६

काठमाडौं, चैत ७ : काठमाडौं उपत्यकाबाट दैनिक २ लाख यात्रु बाहिरिन थालेका छन् । कोरोनाको त्रासले सरकारले चैत मसान्तसम्म शैक्षिक प्रतिष्ठानहरू बन्द गरेपछि अधिकांश विद्यार्थी आ–आफ्नो थातथलो फर्किन थालेका हुन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार शुक्रबार २ लाख यात्रु काठमाडौंबाट बाहिरिँदै छन् । 

१० चैतसम्मका लागि उपत्यकाबाहिर जाने सार्वजनिक सवारीसाधनको टिकट बुक भइसकेको छ । बिहीबार मात्रै निजी र सार्वजनिक सवारीसाधनबाट २ लाख यात्रु बाहिरिएको उनको भनाइ छ । काठमाडौंबाट बाहिरिने सवारीसाधनको संख्यामा वृद्धि भएसँगै उपत्यकाभित्र सञ्चालन हुने सवारीसाधनको संख्यामा कमी आएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

सहजै गाउँ फर्किन पाउने गरी रुट परमिट खुला

चैत मसान्तसम्म सबै शैक्षिक प्रतिष्ठान बन्द र परीक्षाहरू स्थगित गरेपछि विद्यार्थीहरू एकैपटक ठूलो संख्यामा उपत्यकाबाट बाहिरिन थालेका छन् । यात्रुको संख्या बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक यात्रुबाहक यातायातका सवारीसाधनलाई ३ वैशाखसम्म रुट परमिट खुला गरेको छ । बिपी राजमार्गको हकमा मापदण्डभित्र पर्ने मात्र सवारीसाधनलाई इजाजत खुला गरिएको छ । 

लाइसेन्स सेवा स्थगित 

यातायात व्यवस्था विभागले १३ चैतदेखि सवारीचालकको नयाँ लाइसेन्स (अनुमतिपत्र) जारी गर्ने र वर्ग थप गर्ने कार्य पनि स्थगित गरेको छ । लाइसेन्स लिने ठाउँमा अत्यधिक भिड हुने भएकाले स्थगित गर्नुपरेको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए । ‘यसले कोरोना भाइरसको त्रास घटाउन सहयोग पुर्‍याउनेछ,’ उनले भने । त्यस्तै, सवारी अनुमतिपत्र प्राप्त गर्नका लागि पास गर्नुपर्ने ट्रायल र लिखित परीक्षासमेत तत्कालका लागि रोकिएको छ । तर, १३ चैतअगाडि निर्धारित परीक्षा भने नरोकिने महानिर्देशक हमालले जानकारी दिए । विभागले लाइसेन्सको नवीकरण तथा प्रतिलिपि प्रदान गर्ने कार्य भने सुचारु राखेको छ ।  

सवारीसाधन सफा राख्नुपर्ने

यात्रुबाहक सार्वजनिक सवारीसाधनले दैनिक सफा गरी अनिवार्य जीवाणुरहित बनाउनुपर्ने भएको छ । विभागले सम्भव भएसमम्म स्यानिटाइजर प्रत्येक सवारीसाधनमा राख्नुपर्ने गरी अनुरोध गरेको छ । त्यस्तै, यातायात व्यवसायीले सिट क्षमताभन्दा एकजना पनि बढी यात्रु चढाउन नपाउने भएका छन् । ‘सिट क्षमताभन्दा धेरै यात्रु चढाउनेलाई कारबाही गर्दै छाैं,’ ट्राफिक प्रहरीका प्रवक्ता जीवनकुमार श्रेष्ठले भने । यसलाई आगामी दिनमा अझ कडाइ गर्ने उनको भनाइ छ । 

 स्वास्थ्य परीक्षण गरेर मात्र सवारीसाधनमा चढ्नुपर्ने 

सरकारले विभिन्न निकायहरूको सहकार्यमा देशका मुख्य–मुख्य बसपार्कहरूमा र काठमाडौं उपत्यकाबाट बाहिरिने मुख्य–मुख्य नाकाहरूमा हेल्थ डेस्क स्थापना गरिसकेको छ । अब स्वास्थ्य परीक्षण गराएर मात्र यात्रुहरू सवारीसाधनमा चढ्नुपर्ने भएको छ । यस्तै, सरकारले नेपाल–भारतमैत्री बस सेवा तत्कालका लागि रोकिसकेको छ । यातायात व्यवस्था विभागका अनुसार हाल १३ वटा रुटमा नेपाल–भारत बस सेवा सञ्चालन रहेकामा सबै रुटमा बस सेवा रोकिएको हो । 

तपाईको प्रतिक्रिया