अप्ठ्यारोका साथी

  चैत ०७, २०७६

काठमाडौँ, चैत ७ : कोरोना भाइरस (कोभिड–१९) को त्रास बढिरहेका बेला ग्यास, मास्कलगायत दैनिक अत्यावश्यक वस्तुमा कालोबजारी गर्नेहरू धेरै भेटिएका छन्। सरकारी निकायले कालोबजारी गर्नेलाई दैनिकजसो पक्राउ गर्न सफल भएको छ। समस्याबीचमा केही व्यक्ति भने पीडितलाई सहयोग गर्न स्वतःस्र्फूत रूपमा अघि सरेका छन्। त्यस्तै व्यक्तिमध्येमा पर्छन्, कुलेश्वरका लालचन्द्र गौतम र उनकी पत्नी वन्दना। विश्वव्यापी रूपमा महामारी बनेर फैलिरहेको कोरोनाबाट नेपाली पनि संक्रमित हुने खतरा देखिएपछि गौतम दम्पतीले कुलेश्वरको लिकरोडस्थित आफ्नो घरलाई ‘क्वारेन्टाइन’का रूपमा तयार पारेको छ।

‘कोरोना संक्रमणको आशंका गरिएका नौजनासम्म बस्न मिल्नेगरी घर तयार पारेको छु,’ लालचन्द्रले बिहीबार नागरिकसँग भने, ‘सम्भवतः शुक्रबारदेखि कोरोना संक्रमित भएको आशंका गरिएका व्यक्ति क्वारेन्टाइनमा बस्न आउँदै हुनुहुन्छ।’ कोरोना संक्रमितका लागि क्वाइरेन्टाइन तयार हुँदै गर्दा थुप्रैले चासोसमेत राख्ने गरेको उनले बताए।

विदेशबाट आएका, काठमाडौंमा घर नभएका तथा परिवारसहित एउटै कोठामा बस्दै आएका व्यक्तिलाई लक्षित गरी उनले निजी घरलाई क्वारेन्टाइन बनाएका हुन्। ‘कोरोना संक्रमित जहाँ पायो त्यही बस्न नमिल्ने भएकाले केही सहयोग होला भनेर आफ्ना दुईमध्ये एउटा घरलाई क्वारेन्टाइन बनाउने निर्णय गरेका हौं,’ उनले भने। उक्त घरमा कोरोना संक्रमणको आशंका गरिएका व्यक्तिले १४ दिनसम्म निःशुल्क रूपमा बस्न पाउनेछन्। क्वारेन्टाइनमा बस्न आउनेका लागि गौतम दम्पतीबाटै पानी र ग्यासको समेत व्यवस्था हुने जनाइएको छ।

भक्तपुरकी विणा प्रजापतिले लन्डनबाट आउँदै गरेका भाइका लागि क्वारेन्टाइन खोजी गरेपछि बिहीबार साँझ चिराग गोयलले सिफलचौरस्थित आफ्नो घरको कोठा तयारी अवस्थामा राखेका छन्। ‘लन्डनबाट घर फर्केका व्यक्तिलाई घरपरिवारसँग सँगै राख्दा समस्या हुने ठान्नुभएर होला, उहाँ (विणा) फोन गर्नुभयो,’ गोयलले भने, ‘त्यसैले उहाँको भाइ आउनेबित्तिकै बस्न मिल्नेगरी कोठा तयारी अवस्थामा राखिएको छ।’ बिहीबार रातिसम्म विणाका भाइ क्वारेन्टाइनमा बस्न आउने गोयलको अनुमान छ।

गोयलले पनि आशंकित कोरोना संक्रमित नौजनासम्म बस्न मिल्नेगरी घरलाई क्वारेन्टाइनमा रूपान्तरण गरेका छन्। उनले पनि कोरोना संक्रमण आंशका गरिएका व्यक्ति १४ दिनसम्म निःशुल्क बस्न मिल्ने बताए। एक साता अवधिमा तीनजनाले गोयलको घर प्रयोगसमेत गरिसकेका छन्। स्वास्थ्य परीक्षणमा कोरोना संक्रमित भएको रिपोर्ट आएकाहरूले भने सरकारी अस्पतालमै बस्नुपर्ने हुन्छ। ‘घरमा बसेकामध्ये अहिलेसम्म कसैको पनि रिपोर्ट पोजेटिभ आएको छैन,’ उनले भने।

देश र समाज संकटमा परेका बेला स्वतःस्र्फूत रूपमा सहयोगी हात अघि बढाउनु सचेत नागरिकको कर्तव्य मानिन्छ। विश्वमा सभ्य र धनी मानिएका कैयौं मुलुकका बासिन्दाले अप्ठेरोका बेला आफ्नो कर्तव्य र दायित्व निर्वाह गरिरहेका तमाम उदाहरण छन्। कोरोना भाइरसबाट राम्रोसँग तंग्रिन नपाउँदै चीनका चिकित्सक यतिखेर औषधिसहित इटाली पुगिसकेका छन्। युरोप कोरोनाका कारण इटाली नराम्रोसँग प्रभावित भइरहेको छ।

यति गरिब मुलुक र पछौटे समाजमा संकट पर्दा सहयोग गर्नेभन्दा पनि फाइदा लिन खोज्ने समूह ठूलो हुने गर्छ। यसको उदाहरणका रूपमा केही दिनयता नेपालका केही व्यापारीले गरिरहेको दैनिक उपभोग्य वस्तुमा गरिरहेको कालोबजारीलाई लिन सकिन्छ। यहाँ संकटका बेला स्वतःस्फूर्त रूपमा सहयोग गर्नुपर्छ भन्ने भावनाको विकास भएको पाइँदैन। संकटको समाधान भनेकै आपसी सहयोग र नागरिक दायित्व पूरा गर्नु हो।

करिब सय शड्ढयाको समता अस्पताल सञ्चालन गरिरहेका उत्तम सञ्जेलले पनि सहयोगका लागि तयार रहेको बताए। ‘संकटको बेला नकारात्मक मात्र होइन, शुभ कुरा पनि हुुनुपर्छ,’ उनले भने। उनले कोरोना संक्रमितका लागि आवश्यक परे समता अस्पताल एक/डेढ वर्ष नै सरकारलाई दिन तयार भएको बताए। ‘कोरोनाको उपचारका लागि अस्पतालसँग न्यूनतम उपकरण पनि छन्,’ उनले भने, ‘आवश्यक पर्छ भने हामी जुनसुकै बेला अस्पताल सरकारलाई सुम्पन तयार छौं।’

कोरोना भाइरसको सन्त्रास बढ्दै गएपछि केही सर्वसाधारणले सहयोगको पहलकदमी लिए पनि नाम चलेका उद्योगी, व्यवसायीले अहिलेसम्म सहयोगका कुनै योजना सार्वजनिक गरेका छैनन्। नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले वस्तुगत संघमार्फत सघाउन आग्रह गरिएको बताइन्। यस्तै नेपाल उद्योग परिसंघका अध्यक्ष सतीशकुमार मोरले कोरोना संक्रमितको सहयोगका लागि चीनबाट किट, पर्सनल प्रोटेक्सनजस्ता सामग्री मगाएको जानकारी दिए। ‘कुनै समस्या भएन भने ती सामान मार्च २३ तारेखसम्म काठमाडौं आइपुग्छन्,’ उनले भने। हालसम्म नेपालमा कोरोना संक्रमित एकजना भेटिएका छन्। उनी उपचारपछि घर फर्किसकेका छन्।

तपाईको प्रतिक्रिया