विन्डोज १० को प्रयोगकर्ता संख्या १ अर्ब पुग्यो

  चैत ०७, २०७६

काठमाडौँ, चैत ७ : संसार कै सबैभन्दा प्रचलित डेस्कटप अपरेटिंग सिस्टमको कुल प्रयोगकर्ता संख्या १ अर्ब पुगेको छ । माइक्रोसफ्टले विन्डोज १० रिलिजको एक वर्ष भित्र नै १ अर्ब पुर्याउने लक्ष्य राखे पछि उक्त लक्ष्य लगभग अर्ध दशक पछि मात्र पूरा भएको छ ।

“संसारको २०० वटा देशमा प्रयोगकर्ता रहेको माइक्रोसफ्टको विन्डोज १० अपरेटिंग सिस्टमले हालै १ अर्बवटा कम्प्युटरमा इन्स्टल भइसकेको छ ।” – माइक्रोसफ्टका युसुफ मेहदीले बताए । यो संख्यामा विन्डोज चल्ने डेस्कटप कम्प्युटर, ट्याब्लेट, ल्यापटप, विन्डोज मोबाइल, हलोलेन्स र एक्सबक्स वन रहेको छ ।

माइक्रोसफ्टले केही महिना अगाडी नै विन्डोजको प्रयोगकर्ताको संख्या ९० करोड पुगिसकेको जानकारी दिएको थियो ।

माइक्रोसफ्टका अनुसार संसार भरि ८० हजारवटा भन्दा बढी कन्फिगरेसनहरूमा विन्डोज १० चलिरहेको छ । करिब १००० वटा निर्माताहरूले निर्माण गरेको उपकरणमा विन्डोज १० को प्रयोग भएको छ ।

केही महिना अगाडी माइक्रोसफ्टले विन्डोज ७ को सपोर्टलाई अन्त्य गरेको थियो । विन्डोज ७ को सपोर्टको अन्त्यका साथै माइक्रोसफ्टले प्रयोगकर्ताहरूलाई नि:शुल्कमा विन्डोज १० पनि उपलब्ध गराउंदै आएको थियो । विन्डोज ७ को अन्त्यसँगै विन्डोज १० को प्रयोगकर्ता पनि बढ्दै गएको छ ।

प्रयोगकर्ताहरूले अझै पनि विन्डोज ७ बाट नि:शुल्कमा विन्डोज १० मा अपडेट गर्न सक्नेछन् । माइक्रोसफ्टले सकेसम्म सबै प्रयोगकर्तालाई विन्डोज १० तर्फ नै धकेल्न खोजिरहेको छ ।

नि:शुल्क मै विन्डोज ७ बाट ओरिजिनल विन्डोज १० मा कसरी अपडेट गर्ने भनेर जान्नका लागि यस्तो गर्नुहोस् :

०. तपाईंले प्रयोग गरिरहेको विन्डोज ७, विन्डोज ८ वा विन्डोज ८.१ एक्टिभेट गरिएको हुनु पर्नेछ । क्रयाक गरेर एक्टिभेट गरिएको भए पनि फरक पर्दैन ।

१. विन्डोज १० को डाउनलोड वेबसाइटमा जानुहोस् । उक्त वेबसाइटमा जानका लागि यो लिंकमा क्लिक गर्नुहोस्: https://www.microsoft.com/en-us/software-download/windows10

२. उक्त वेबसाइटमा भएको Create Windows 10 installation media को मुनि पट्टी रहेको Download Tool Now मा क्लिक गर्नु होस् र Run मा क्लिक गर्नुहोस् ।

३. तपाईंले डाउनलोड गरेको प्रोग्राम चल्न सुरु हुनेछ ।

४. प्रोग्राम सुचारु भएपछि Upgrade this PC now मा क्लिक गर्नुहोस् ।

५. सबैमा आवश्यक परे जसरी Next गर्दै जानुहोस् । पुरै फर्म्याट गर्ने कि डेटाहरू सेभ गर्ने भनेर यहिनै छुट्टाउन सक्नुहुनेछ ।

६. अन्तिममा गएर उक्त प्रोग्रामले ओरिजिनल विन्डोज १० डाउनलोड गर्न सुरु गर्नेछ । डाउनलोड गर्ने साइज लगभग 4 GB (४ जीबी)  रहेकाले केही घण्टासम्म लाग्न सक्छ । डाउनलोड भएको बेलामा अन्य कुरा चलाउँदा फरक पर्दैन, तर कम्प्युटर बन्द गर्नु भने हुँदैन ।

७. डाउनलोड भएपछि विन्डोज १० इन्स्टल हुन सुरु हुनेछ । इन्स्टल हुँदा तपाईंको कम्प्युटर बारम्बार रिस्टार्ट हुनेछ । इन्स्टलको समयमा डिस्क चयन गर्ने, पासवर्ड र युजरनेम हाल्ने जस्ता कार्यहरू भने गर्नु पर्ने हुन्छ ।

८. इन्स्टल सकिएपछि तपाईंले ओरिजिनल र सक्कल विन्डोज १० प्रयोग गर्न पाउनुहुनेछ ।

तपाईको प्रतिक्रिया