कोरोना संक्रमणबाट मृतकको संख्या चीनमा भन्दा इटालीमा बढी

  चैत ०७, २०७६

रोम, चैत ७ : कोरोना भाइरस(कोभिड–१९) बाट इटालीमा चीनमा भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । इटालीमा पछिल्लो २४ घण्टामा ४ सय २७ जनाको भाइरसको संक्रमणबाट ज्यान गएसँगै मृत्यु हुनेको संख्या ३ हजार ४ सय ५ पुगेको हो ।

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारीअनुसार बिहीबार रातिसम्म चीनमा ३ हजार २ सय ४५ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा चीनमा ८ जनाको मात्रै मृत्यु भएको छ भने थप ३४ जनामा संक्रमण देखिएको छ । बिहीबार रातिसम्म चीनमा संक्रमितको संख्या ८० हजार ९ सय २८ पुगेको छ भने ७० हजारभन्दा बढी निको भइसकेका छन् ।

इटालीमा बुधबारभन्दा बिहीबार मृत्यु हुनेको संख्या केही कम भए पनि संक्रमितको संख्या भने बढिरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै इटालीमा थप ५ हजार ३ सय २२ जनामा संक्रमण देखिएको छ । इटालीमा बिहीबार रातिसम्म संक्रमितको संख्या ४१ हजार ३५ पुगेको अन्तर्राष्ट्रिय सञ्चारमध्यमलाई उद्धृत गर्दै इकान्तिपुर अनलाइनले जनाएको छ ।

त्यस्तै इरान र स्पेनमा पनि पछिल्लो २४ घण्टामा क्रमशः १४९ र १६५ जनाको मृत्यु भएको छ । बिहीबार रातिसम्म इरानमा भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार २ सय ८४ पुगेको छ भने १८ हजार ४ सय ७ जना संक्रमित भएका छन् । त्यस्तै स्पेनमा ८ सय ३ को मृत्यु हुँदा १७ हजारभन्दा बढी संक्रमित भएका छन् ।

गत डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोभिड–१९ अहिले विश्वका १७० भन्दा देशमा फैलिइसकेको छ । विश्वव्यापी महामारीको रुप लिएको कोभिड–१९ कारण अहिलेसम्म ९ हजार ८ सय २४ जनाको मृत्यु भइसकेको छ । त्यस्तै २ लाख ३६ हजारभन्दा बढी यसबाट संक्रमित हुँदा ८६ हजारभन्दा बढी निको भएका छन् ।

तपाईको प्रतिक्रिया