वैकल्पिक ऊर्जा प्रवद्र्धन गर्न १५ करोड अनुदान

  चैत ०७, २०७६

काठमाडौँ, चैत ६ : नेपालमा वैकल्पिक ऊर्जा प्रवद्र्धन गर्न एशियाली विकास बैंक (एडिबी) र राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रलाई १५ करोड अनुदान उपलव्ध गराउने भएका छन् ।

मुलुकमा नवीकरणीय ऊर्जा प्रवद्र्धन गर्ने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको प्रमुख निकाय उक्त केन्द्रलाई एडिबीले दक्षिण एशिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) ऊर्जा विस्तार परियोजनाबाट रु सात करोड र ग्रामीण जीविकोपार्जनका लागि नवीकरणीय ऊर्जा कार्यक्रममार्फत युएनडिपीले अतिरिक्त वित्तीयलगानीस्वरुप रु आठ करोड प्रदान गर्न लागेका हुन् ।

अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा बैंकका देशीय निर्देशक मुख्तोर खामुदखानोभको उपस्थितिमा आज राजधानीमा भएको एक सङ्क्षिप्त कार्यक्रममा युएनडिपीका आवासीय प्रतिनिधि आएशानी मादागाङ्गोदा लाबे र केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारीले हस्ताक्षर गर्नुभयो ।

सासेक परियोजनाअन्तर्गत ताप्लेजुङ, सोलुखुम्बु, रुकुम पूर्व, रुकुम पश्चिम, डोल्पा, जुम्ला, मुगुलगायत नौ जिल्लामा लघु जलविद्युत् र पाँचथर, मोरङ, ओखलढुङ्गा, सिन्धुली, रोल्पा, सुर्खेत, कैलाली र बैतडीसहित १० जिल्लामा लघु सौर्य ऊर्जा कार्यक्रम सञ्चालित छन् ।

तपाईको प्रतिक्रिया