बैंकिङ कसुरमा सात दिन कैद

  चैत ०६, २०७६

रौतहट, चैत ६ : उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जले बैंकिङ कसुर मुद्दामा नेपाल पत्रकार महासंघ जिल्ला शाखाका तत्कालीन अध्यक्षसहित सचिव र कोषाध्यक्षलाई सात दिन कैदको फैसला गरेको छ । गत माघ १३ गते भएको फैसला प्रति (कागज) बुधबार मात्र प्राप्त भएको हो ।

न्यायाधीशद्वय डिल्लीराज आचार्य र भीमकुमार ओझाको संयुक्त इजलासले बैंकिङ कसुर मुद्दाअन्तर्गत नेपाल पत्रकार महासंघका तत्कालीन अध्यक्ष रवीन्द्रप्रसाद साह, सचिव राजेन्द्रकुमार क्षेत्री र कोषाध्यक्ष रमेश तिमिल्सिनालाई चेक बाउन्स गरेको भनी दोषी ठहर गरेको थियो ।

बैंकिङ कसुर तथा सजाय निर्धारण ऐन २०६४ को दफा ३ (ग) बमोजिम कसुर अपराध गरेको हुँदा अध्यक्ष साह, सचिव क्षेत्री र कोषाध्यक्ष तिमिल्सिनालाई जनही रु ३३ हजार ३३३ का दरले चेक बाउन्स भएकामा भुक्तान गर्न आदेश दिइएको हो ।

सोही जिल्ला बौधीमाई नगरपालिका– ८ बस्ने उत्तमकुमार उपाध्यायका नाउँमा नेपाल पत्रकार महासंघको कार्यक्रम गरेबापत महासंघका ती पदाधिकारीले राष्ट्रिय वाणिज्य बैंक गौरको खाताबाट रु एक लाखको चेक दिए पनि भजाउन सकिएको थिएन ।

तपाईको प्रतिक्रिया