जापानी फ्लुको औषधी कोरानाका बिरामीमा प्रभावकारी देखियो

  चैत ०५, २०७६

लन्डन, चैत ५ : चीनका स्वास्थ्य अधिकारीहरले जापानमा नयाँ प्रजातिको इन्फ्लुएन्जा उपचारमा प्रयोग भइरहेको औषधी कोरोना भाइरसका बिरामीमा प्रभावकारी देखिएको बताएका छन् ।

जापानी सञ्चारमाध्यमले बुधबार यस्तो समाचार प्रकाशमा ल्याएका हुन् । नोवेल कोरोना भाइरसको उपचारमा प्रभावकारी औषधी पत्ता नलागेको बेला यसले निकै आस जगाएको जापानी सञ्चार माध्यमलाई उद्धृत गर्दै आर्थिक पेज अनलाइनले जनाएको छ ।

चीनको विज्ञान तथा प्रविधि मन्त्रालयका एकजना अधिकारी झाङ सिनमिनले फुजिफिल्मको भगिनी कम्पनीले विकास गरेको फाभिपिराभिर नामको औषधीले चीनको वुहान र सेन्झेनमा उत्साहजनक परिणाम देखाएको छ । त्यहाँ तीन सय ४० जना बिरामीमा उक्त औषधी दिइएको थियो ।

‘यसमा उच्च तहको सुरक्षा छ र उपचारमा स्पष्ट रुपमा प्रभावकारी छ,’ झाङले पत्रकारहरुसँग भनेका छन् । सेन्झेनमा यो औषधी दिइएका बिरामीमा औसत चार दिनपछि भाइरस हराएको पाइएको छ । यो औषधी नदिइएको बिरामीमा भने भाइरसको संक्रमण हराउन ११ दिन लागेको जापानी प्रसारण संस्था एनएचकेले जनाएको छ ।

फाभिपिराभिर औषधी दिइएका बिरामीको फोक्सोको अवस्था ९१ प्रतिशत सुध्रिएको पाइएको छ, जबकी यो औषधी नदिइएको फोक्सो ६२ प्रतिशत मात्रै सुध्रिएको थियो ।

एभिगानको नामले समेत चिनिने उक्त औषधी विकास गर्ने फुजिफिल्म तोयोमा केमिकलले यस विषयमा टिप्पणी गर्न इन्कार गरेको छ । उक्त कम्पनीले सन् २०१४ मा यो औषधी विकास गरेको थियो ।

झाङको टिप्पणी बाहिर आएपछि बुधबार यो कम्पनीको सेयर मूल्य १५.७ प्रतिशतले बढेर ५२०७ येन पुगेको छ ।

जापानका डाक्टरहरुले पनि हल्कादेखि मध्यमखाले कोरोना भाइरसको लक्षण भएका बिरामीको क्लिनिकल अध्ययनका लागि यही औषधी प्रयोग गरेका छन् । यसको प्रयोगले भाइरसको गुणात्मक विस्तार रोक्ने उनीहरुको अपेक्षा छ ।

तर जापानी स्वास्थ्य मन्त्रालयको एउटा स्रोतले ज्यादै गम्भीर प्रकृतिका विरामीमा यो औषधी प्रभावकारी नभएको बतायो । ‘हामीले ७० देखि ८० जनालाई एभिगान दियौं, तर भाइरस पहिल्यै ब्यापक भइसकेका केसमा यसले काम गरे जस्तो लागेन,’ उक्त स्रोतले जापानी पत्रिका माइनिची सिम्बुनसँग भनेको छ ।

एचआइभीको एन्टिरेट्रोभाइरल लोपिनाभिर र रिटोनाभिर मिलाएर प्रयोग गरिएका बिरामीमा अध्ययनका क्रममा केही सीमितता पहिचान भएको पनि स्रोतले बताएको छ । सन् २०१६ मा जापान सरकारले गिनीमा इबोला संक्रमण फैलिएको बेला आपतकालीन सहायताको रुपमा फाभिपिराभिर नै पठाएको थियो ।

फाभिपिराभिर फ्लुको उपचारका लागि बनेको औषधी भएकाले कोभिड–१९ मा पूर्णस्तरमा यो प्रयोग गर्न सरकारी अनुमोदन आवश्यक पर्छ । एकजना स्वास्थ्य अधिकरीले यो औषधी मेको सुरुतिरै अनुमोदन हुन सक्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया