बुर्तिवाङमा म्याद गुज्रिएका औषधि

  चैत ०५, २०७६

बलेवा, चैत ५ : ढोरपाटन नगरपालिका–१ बुर्तिवाङ बजारमा सञ्चालित एक क्लिनिकले म्याद सकिएका औषधिको बिक्री गर्दै आएको खुलेको छ । घरेलु तथा साना उद्योग कार्यालय बागलुङसहित सरोकारवाला संस्थाले गरेको अनुगमनका क्रममा बुर्तिवाङ सिटी क्लिनिकले म्याद गुज्रिएका औषधि बिक्री वितरण गरिरहेको भेटाएको हो ।

क्लिनिकमा भएका दश किसिमका औषधि सबैको म्याद गुज्रिएको फेला पारेको कार्यालय प्रमुख गुमादेवी शर्माले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय, यातायात व्यवस्था कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्चलगायतका संघ संस्थाका प्रतिनिधि सम्मिलित अनुगमन समितिले उक्त क्लिनिकका औषधिको म्याद सकिएको भेटाएको थियो ।

म्याद गुज्रेका सबैखाले औषधि नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालयमा बुझाइएको उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले बताउनुभयो । उक्त क्लिनिकलाई कारवाही गर्न उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय पोखरामा समेत कारवाहीका लागि सिफारिस गरिने उहाँले जानकारी दिनुभयो । क्लिनिक सञ्चालकलाई प्रशासनले सात दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ ।

जिल्ला सदरमुकामबाट अनुगमन निस्केको टोलीले काठेखोला गाउँपालिकाको दृश्यावलोकन स्तम्भ आसपासको बजार, गलकोट नगरपालिकाको हटिया बजार र ढोरपाटन नगरपालिकाको बुर्तिवाङ बजारमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा अधिकांश पेय पदार्थमा धेरै म्याद गुज्रिएका पाइएको श्रेष्ठले बताउनुभयो । उपभोक्ता हित विपरीत कारोवार गर्ने सबै व्यवसायीलाई आवश्यक चेतावनी दिइएको कार्यालय प्रमुख शर्माले बताउनुभयो । टोलीले भेटेका सबै सामग्री नष्ट गरेको थियो ।

तपाईको प्रतिक्रिया