सुदूरपश्चिमा ५४ हजार ५३७ सहभागी हुँदै

  चैत ०५, २०७६

डोटी, चैत ५ : सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा माध्यमिक शिक्षा परीक्षा (एसइई)का आवश्यक सबै तयारी पूरा भएको छ । सुदूरपश्चिम क्षेत्रीय शिक्षा विकास निर्देशनालय दिपायल राजपुरका अनुसार सबै परीक्षा केन्द्रमा प्रश्नपत्र, उत्तरपुस्तिकालगायतका सामग्री पुगिसकेका छन् ।

सुदूरपश्चिम प्रदेशबाट यस वर्षको एसइईमा छात्र २६ हजार १४२, छात्रा २८ हजार ३९५ गरी कूल ५४ हजार ५३७ सहभागी हुने भएका छन् । यस वर्षको नियमित एसइईतर्फ छात्र २४ हजार २५७ तथा छात्रा २६ हजार ३९१ गरी कूल ५० हजार ६४८ सहभागी हुने भएका छन् । प्राविधिक धारतर्फ छात्र ६६३ तथा छात्रा ३६४ गरी कूल एक हजार २७ जना सहभागी हुने भएको तथा ग्रेडवृद्धितर्फ छात्र एक हजार २२२ तथा छात्रा एक हजार ६४० गरी कूल दुई हजार ८६२ रहेको सुदूरपश्चिम क्षेत्रीय शिक्षा विकास निर्देशनालय दिपायल राजपुरका निर्देशक दुर्गाराज विष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार सभ्य तथा मर्यादित एसइई सञ्चालनका लागि सुदूरपश्चिम प्रदेशभरिमा कूल २११ परीक्षा केन्द्रमा केन्द्राध्यक्ष नियुक्ति भइसकेका र उनीहरुलाई परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आवश्यक अभिमुखीकरण दिइसकिएको छ । त्यस्तै परीक्षालाई व्यवस्थित, अनुसाशित, मर्यादित र भयरहित तरिकाले सम्पन्न गर्नका लागि शिक्षा विकास तथा समन्वय एकाइलगायत एसइई परीक्षा जिल्ला समन्वय समितिका पदाधिकारीसहित शिक्षा विकास निर्देशनालयबाट यहाँका नौवटै जिल्लामा परीक्षामा सहजीकरण र अनुगमन गर्नका लागि अनुगमन टोली खटाइसकिएको निर्देशक विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “परीक्षालाई भयरहित वातावरणमा सम्पन्न गर्न अनुगमन टोली खटाइएको छ, टोलीले आफ्नो परीक्षा केन्द्रमा सभ्य तरिकाले एसइई सञ्चालन गर्ने छ ।” यस वर्ष एसइईका लागि तोकिएका परीक्षा केन्द्रमा कोरोनाविरुद्ध सावधानी अपनाएर परीक्षा सञ्चालन र व्यवस्थापन गर्न लागिएको छ । शिक्षा मन्त्रालयको अपिलअनुसार विद्यार्थीलाई परीक्षा केन्द्रमा स्वास्थ्य सहायता प्रदान गर्न प्रत्येक परीक्षा केन्द्रमा परीक्षा अवधिभर हेल्थ डेस्क राख्ने प्रबन्धका लागि सम्बन्धित स्थानीय तहलाई अनुरोध गरी हेल्थ डेस्कको स्थापना गरिसकिएको जनाइएको छ । त्यस्तै सुदूरपश्चिम क्षेत्रीय शिक्षा विकास निर्देशनालय दिपायल राजपुरले विद्यार्थीलाई परीक्षा दिन आउँदा र घर जाँदा साबुनपानी प्रयोग गरेर हात धुन, मास्क प्रयोग गर्न, अरुसँग हात नमिलाउन र सकभर भीडभाडमा नजान आग्रह गरेको छ । त्यस्तै परीक्षा केन्द्रमा अनावश्यकरूपमा जम्मा भएर भीडभाड नगर्न पनि सबैलाई अपिल गरेको छ । परीक्षा सकिएपश्चात आ–आफ्नो कोठा वा घरमा गइहाल्ने र अनावश्यक हिँडडुल नगर्नसमेत परीक्षार्थीलाई अनुरोध गरिएको निर्देशक विष्टले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया