‘ओलम्पिकमा पनि देशका लागि पदक जित्ने चाहना छ’

  चैत ०५, २०७६

नेपालगञ्ज, चैत ४ : १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता ‘साग’मा भारोत्तोलन खेल इतिहासमा पहिलो स्वर्ण पदक जित्ने महिला खेलाडी बन्न सफल हुनुभएकी नेपालगञ्ज निवासी सञ्जु चौधरीको आगामी लक्ष्य देशका लागि अझै धेरै पदक जित्ने रहेको छ ।

नेपालमै सम्पन्न भएको १३ औँ सागमा ५९ केजी तौल समुहमा प्रतिस्पर्धा गर्नुभएकी सञ्जुले भारोत्तोलन खेलको इतिहासमा ऐतिहासिक स्वर्ण जितेर कीर्तिमान कायम गर्नुभयो । उहाँ सागमा स्वर्ण पदक जित्ने पहिलो नेपाली महिला खेलाडी पनि बन्नुभयो ।

यसअघि नेपालगञ्जकै भारोत्तोलन खेलाडी सुरेन्द्र हमाल पनि देशकै तर्फबाट पहिलो अन्तराष्ट्रिय पदक जित्ने खेलाडी बन्नुभएको थियो । हमालले सन १९८३ मा सिरियामा भएको ३५ औं एसियन च्याम्पियनशिप भोरोत्तोलन प्रतियोगितामा कास्य पदक जितेर देशकै लागि पहिलो अन्तराष्ट्रिय पदक जित्ने खेलाडी बन्नुभएको होे ।

सागमा स्वर्ण पदक जितेपछि अब एशियाली खेलकुद र ओलम्पिकमा राष्ट्रका लागि धेरै पदक जित्ने सञ्जुको चाहना रहेको गोरखापत्र अनलाइनसँग बताइन् ।

१३ औँ सागमा सञ्जुले स्न्याचतर्फ ७५ र क्लिन एन्ड जर्कमा ९७ गरी कुल १७२ केजी भार उठाउनु भएको थियो । साग खेलको इतिहासमा महिला भारोत्तोलनतर्फ नेपालले १२ औँ सागदेखि सहभागिता जनाएकोमा १३ औं मै यति ठुलो उपलब्धि प्राप्त गर्न सफल भयो ।

१३ औँ सागमा स्वर्ण पदक जित्दाको क्षणलाई आफ्नो जीवनको अविष्मरणीय क्षण रहेको उहाँले बताउनुभयो । सञ्जु भन्नुहुन्छ, “अबको लक्ष्य भनेको एशियाली खेलकुद र ओलम्पिकमा देशका लागि पदक जित्नलाई रहनेछ ।”

केही महिनापछि आयोजना गर्ने भनिएको ओलम्पिक खेलमा सहभागी हुने अवसर प्राप्त भएमा देशका लागि राम्रो गर्ने चाहना उहाँको छ ।

“एशियन गेम र ओलम्पिकमा पदक नै जित्छु त अहिले भन्न सक्दिन तर, सागमा देखाएको खेल प्रदर्शनमा सुधार गर्दै राम्रो प्रदर्शन गर्ने मेरो लक्ष्य र चाहना हो । सोही अनुसार परिश्रम गरिरहेकी छु ।”–सञ्जुले आफ्नो तयारी बारे उल्लेख गर्नुभयो ।

१३ औँ सागमा स्वर्ण पदक जितेपछि नेपाल पुलिसले गत माघ २८ गतेदेखि खेलाडी कोटामा उहाँलाई जागिर दिएको छ । जागिर पाएपछि निकै प्रफुल्लित सञ्जुले अब खेलमा कसरी टिकिरहने भन्ने चिन्ता समाप्त भएको बताउनु भयो ।

उहाँले अहिले खेलाडीका लागि खेलमा टिकिरहनु नै सबैभन्दा ठुलो चुनौती रहेको बताउनुहुन्छ । आफूले जागरि पाएपछि सो चिन्ता समाप्त भएको उहाँले बताउनु भयो ।

“देशका लागि राम्रो खेल्ने राष्ट्रिय र अन्तराष्ट्रिय सबै खेलाडीलाई सरकारले जागरिको व्यवस्था गर्न नसके मासिक रुपमै निश्चित पकेट मनीको व्यवस्था गर्नैपर्छ । त्यसो गर्न नसकिए खेलाडीलाई टिकाउन गाह्रो छ ।”–सञ्जुको सुझाव छ ।

उहाँले अन्य खेलजस्तै भारोत्तोलनलाई पनि विद्यालयस्तरबाटै समावेश गर्नु पर्ने आवश्यकता औंल्याउनुहुन्छ । विद्यालयस्तरीय राष्ट्रपति कप, मुख्यमन्त्री कप लगायत अन्य प्रतियोगितामा पनि भारोत्तोलनलाई समावेश गर्नु पर्ने उहाँको माग छ ।

“अझैपनि थुप्रै बालिकाहरु भारोत्तोलन लगायत अन्य खेलमा आउन चाहिरहेका छन्, तर उनीहरुले राम्रो प्रशिक्षण र अवसर पाइरहेका छैनन् । राम्रो प्रशिक्षण नियमित खेल र अवसरले नै राम्रा खेलाडी उत्पादन गर्ने हो,” उहाँ थप्नुहुन्छ ।

नेपालगञ्जको एक सामान्य परिवारमा २०५६ सालमा जन्मेकी सञ्जु विद्यालयमा पढ्दा क्रिकेट खेल्न रुचाउनुहुन्थ्यो । शुरुमा सञ्जुका पिता शामु थारुले खेल खेल्न नदिएपनि पछि क्रिकेटमै पनि राम्रो प्रदर्शन गर्दा सबैले बधाई दिएपछि खेल खेल्ने अनुमति दिनुभएको थियो ।

क्रिकेट मात्र नभई सञ्जुले एथलेटिक्समा पनि विद्यालयमा थुप्रै कीर्तिमान बनाउनु भयो । तर, रंगशालामा फिजिकल फिटनेस गर्न जाँदा २०७३ सालमा उहाँको भेट भारोत्तोलनका प्रशिक्षक सकिल अहमद हलुवाईसँग भयो ।

सो भेटमा प्रशिक्षक हलुवाईले महिला खेलाडीका लागि भारोत्तोलनमा भविष्य धेरै राम्रो छ, छिटै ठुलो उपलब्धी हासिल गर्न सकिन्छ भनेपछि सञ्जुले भारोत्तोलन खेलमा प्रवेश गर्नुभयो ।

त्यसपछि उहाँले कहिले पनि पछाडि फर्केर हेर्नुभएन । एकपछि अर्को गर्दै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत कीर्तिमान बनाउन सफल हुँदै १३ औं सागमा आइपुग्दा उहाँ नेपालकै लागि इतिहास कायम गर्न सफल हुनुभयो ।

तपाईको प्रतिक्रिया