काठमाडौं अष्ट्रेलिया सिधा उडानको पहल हुँदै

  चैत ०४, २०७६

क्यानबेरा, अष्ट्रेलिया, १४ पुस : नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई उडानका लागि पहल गरिएको छ । नेपाल र अष्ट्रेलिया बीचमा गत अक्टोबर २ तारिखमा हवाई सम्झौता भएको थियो ।

अष्टे«लियामा एक लाख ५० हजार हाराहारी नेपाली बसोबास गर्दै आएका छन् । सिधा उडान नहुँदा उनीहरू र यहाँबाट नेपाल घुम्न जाने पर्यटक विभिन्न देशका विमानस्थलमा लामो ट्रान्जिटमा परेर आउन–जान बाध्य रहेका छन् ।

सिड्नी विमानस्थलले प्रकाशित गरेको तथ्याङ्कअनुसार यो वर्षमात्र काठमाडौंबाट सिड्नी आउने यात्रुको सङ्ख्या एक लाख २१ हजार २६० पुगिसकेको छ । सिड्नी विमानस्थलसँग सिधा उडान सम्पर्क नभएका देशको विमानस्थलहरूको सबैभन्दा ठूलो सङ्ख्या हो ।

अष्ट्रेलियाको नागरिक उड्डयन सेवा प्रदायक संस्था विगत १२ वर्षदेखि कार्यरत इञ्जिनियर राजु अधिकारीका अनुसार यो सङ्ख्या दैनिक सिधा उडानका लागि निकै फाइदाजनक देखिन्छ । उहाँका अनुसार सिधा हवाई सम्पर्क भएमा सिड्नीबाहेकका सहरमा जाने यात्रुहरूलाई पनि यही बाटो प्रयोग गर्ने छन् । यसले गर्दा सिधा उडान प्रभावकारी हुने गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय समिति सदस्यसमेत रहनुभएका उहाँले बताउनुभयो ।

अष्ट्रेलियन कम्पनीहरूले भारतका सहरबाट समेत हालसम्म उडान गरेको पाइँदैन । नेपाल एयरलाइन्सले काठमाडौं र सिड्नीबीच सिधा उडानका लागि सम्भाव्यता अध्ययन गरिएको जनाएको छ । सिड्नी काठमाडौंको दूरी लगभग १० हजार किलोमिटर रहेको छ ।

अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले सम्झौतापछिका प्राविधिक पक्षहरूका विषयमा निरन्तर छलफल भइरहेको जानकारी दिनुभयो । अगामी जनवरी ७ तारिखमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको यहाँ भ्रमण हुने समयमा यहाँका उच्च अधिकारीसँग भेटघाटका लागि पहल आफूले गरिरहेको उहाँले बताउनुभयो ।

अष्ट्रेलियाको सिड्नी आसपासको क्षेत्रहरू क्यानवेरा, गोलवन, वागावागा, डव्वो लगायतका क्षेत्रमा बसोबास गर्ने नेपाली यसबाट लाभान्वित हुने गैरआवासीय नेपाली सङ्घ अष्ट्रेलियाका उपाध्यक्ष चुडामणि सापकोटा बताउनुहुन्छ । साथै सिधा उडानले नेपालको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने उहाँले जानकारी दिनुभयो । यसका लागि आवश्यक सहयोग गर्न गैरआवासीय नेपाली सकारात्मक रहेको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया