ब्याज छुटको माग गर्दै होटल व्यवसायी

  चैत ०३, २०७६

चितवन, चैत ३ : कोरोना भाइरसको डरले पर्यटक आउन छाडेपछि सौराहाका होटल व्यवसायीले बैंकको व्याज र किस्ता बुझाउन नसक्ने भन्दै सरकारसँग सहयोग मागेका छन् । व्याज छुट र किस्ताको भाका बढाइदिन उनीहरूले आग्रह गरेका हुन् ।

क्षेत्रीय होटल संघले बैठक बसी सरकारसँग व्याज छुट र किस्ताको भाका बढाइदिन माग गर्ने निर्णय गरेको हो । संघका अध्यक्ष दीपक भट्टराईकाअनुसार कम्तीमा ६ महिनाको व्याज मिनाहा गरीदिन र किस्ताको भाका पछाडि सारिदिन सरकारसँग माग गर्ने निर्णय गरिएको छ । नेपाल होटल एसोसिएशनले यही चैत ५ गते बैठक बोलाएको भन्दै भट्टराईले सोपश्चात सरकारसँग माग अघि बढाइने जानकारी दिनुभयो ।

पर्यटकको मुख्य मौसममा कोरोना भाइरसको प्रभावले सौराहाका होटलहरू सुनसान जस्तै भएका छन् । अहिले भएका विदेशी पर्यटकसमेत आफ्नो देशले फिर्ता बोलाएपछि फर्कन थालेका छन् । नयाँ सबैको बुकिं रद्द भएको छ । उहाँका अनुसार अहिले दैनिक २०० को हाराहारीमा मात्र पर्यटक रहेका छन् । गतवर्ष यतिबेला झण्डै पाँच हजार पर्यटक हुने गरेका थिए ।

अहिलेको कमाइले कर्मचारीको दैनिक खानपानसमेत धान्न नसकेपछि अधिकांश होटलले कर्मचारीलाई बिदा दिन थालेका छन् । सौराहामा ११५ वटा होटल सञ्चालनमा रहेका छन् । भट्टराईको भनाइमा एउटा होटलको रु एक करोड देखि रु ३० करोडसम्म बैंकिङ ऋण रहेको छ ।

एकिन तथ्यांक नभए पनि सौराहाका होटल बनाउन रु आठ अर्बभन्दा बढी लगानी भएको व्यवसायी बताउँछन् । यो लगानी जग्गा बाहेकको हो । सोही हाराहारी बैंकको ऋण रहेको छ ।

सौराहामा द्वन्द्वकालसँगै भूकम्प र नाकाबन्दीको समयमा व्यापारमा निकै गिरावट आएको थियो । अहिले त्योभन्दा बढी प्रभाव देखिने अवस्था आएको व्यवसायीहरू बताउँछन् । त्यतिबेला आन्तरिक पर्यटक आएको भए पनि अहिले नेपालीसमेत बाहिर निस्कन डराएको देखिन्छ । सरकारले सभा, सम्मेलन जस्ता ठूला कार्यक्रम नगर्न अनुरोध गरिसकेको छ ।

कोरोनाको प्रभाव होटलमा देखिएपछि यसले अन्य क्षेत्रमा नराम्रो असर पु¥याएको छ । पर्यटकबाट आश्रित साना होटल, रेष्टूरेन्ट, पसल, डुंगा, हात्ती, जीप, पर्यटक बसजस्ता पर्यटन व्यवसाय प्रभावित भएका छन् । जसबाट सरकारको राजश्वमा पनि प्रभाव देखिने भएको छ । यससँगै कुखुराको मासु र अण्डाको खपत घटेपछि मूल्यमा गिरावट आउन थालेको छ । व्यापार घटे पनि रोग नभित्रिएमा आउँदा दिनमा ऋण तिर्न सकिने भन्दै अहिलेका लागि टिक्न सरकारको सहयोग आवश्यक रहेको अध्यक्ष भट्टराई बताउनुहुन्छ ।

तपाईको प्रतिक्रिया