सरकारको स्पष्टोक्ति : कोरोना संक्रमण छैन, पूर्व सतर्कता अपनाऔं

  चैत ०२, २०७६

काठमाडौँ, चैत २ : सरकारले कोरोना भाइरस डिजिज (कोभिड–१९) बाट नेपालमा हालसम्म कुनै संक्रमण नभएको स्पष्ट पारेको छ । चीनबाट फैलिएको कोरोनाको संक्रमण विश्वका १५२ देशमा फैलिएको र हालसम्म पाँच हजार ८४९ को मृत्यु भइसकेको तथ्यांक सार्वजनिक भए पनि नेपालमा ४६४ जनामा परीक्षण गरिँदा हालसम्म संक्रमित फेला नपरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जानकारी दिनुभयो ।

राष्ट्रियसभाको आजको बैठकमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिँदै स्वास्थ्यमन्त्री ढकालले कोरोनाको सम्भावित जोखिम नियन्त्रणका लागि विशेष सतर्कता अपनाइएको बताउनुभयो । संघीय सरकारले प्रदेश तथा स्थानीय तहको सरकारसँग प्रभावकारी समन्वय संक्रमण फैलन नदिने विशेष सतर्कता अपनाएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण हुनुभन्दा अघि गत फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा आठ मन्त्री सम्मिलित अधिकारसम्पन्न समिति गठन गरेको छ । उहाँले उक्त समितिको एक दिन बिराएर बैठक बसी कोरोनाको संक्रमण रोक्न सम्भावित जोखिम न्यूनीकरणका लागि विशेष सतर्कताकासाथ काम अघि बढाइएको सदनलाई जानकारी दिनुभयो ।

आजै मात्र सातै प्रदेशका मुख्यमन्त्री तथा सामाजिक विकास मन्त्रीसहितको बैठकको आयोजना गरेर केन्द्रदेखि स्थानीयतहसम्म समन्वय गरी एकीकृत स्वास्थ्य सुरक्षा सतर्कता अपनाइने जानकारी उहाँले दिनुभयो । सरकारले कोरोनाको सम्भावित जोखिमलाई ध्यानमा राखी कूटनीतिकबाहेकका सबै प्रवेशाज्ञा आगामी वैशाख १८ गतेसम्मका लागि स्थगन गरेको जानकारी दिँदै स्वास्थ्यमन्त्रीले छोटो समयका लागि विदेश अध्ययनमा जाने विद्यार्थी र विदेशमा काम गर्न जाने श्रमिकको श्रम स्वीकृति पनि बन्द गरिएको बताउनुभयो ।

अस्पतालमा पूर्वतयारी
काठमाडौँमा करीब १७० सघन कक्ष शय्या रहेकाले काठमाडौँ उपत्यकामा १२० र उपत्यका बाहिर ११५ गरी २३५ शय्या थप गर्ने सरकारी तयारी छ । सरकारले यसअघि नै विभिन्न सरकारी अस्पतालमा गरी ११५ आइसोलेसन बेड स्थापना गरिसकेको जानकारी दिँदै स्वास्थ्यमन्त्री ढकालले थप जोखिमलाई ध्यानमा राखी औषधिमूलो र औजारसमेत जोहो गर्न लागिसकिएको बताउनुभयो ।

कोरोनाको संक्रमण नेपालमा भित्रन नदिन उच्च सावधानी अपनाइएको जानकारी दिँदै मन्त्री ढकालले छिमेकी भारतमा समेत यो रोगको संक्रमण देखिएकाले सीमा नाकामा थप सतर्कता अपनाइएको स्पष्ट पार्नुभयो । मन्त्री ढकालले विश्व स्वास्थ्य संगठनको मापदण्डानुप होम क्वारेन्टाइनको व्यवस्था गर्न नागरिकलाई आग्रह गरिएको तथा कोरोनाको हल्लाले बजारमा दैनिक उपभोग्य वस्तुमा हुने अभाव र कालोबजारी नियन्त्रणका लागि आवश्यक सजगताका साथ काम गरिएको जानकारी दिनुभयो ।

चीनपछि अमेरिका र युरोपमा फैलिएको सो भाइरसबाट भारतमा पनि संक्रमितको संख्या बढ्दै गएकाले विशेष सावधानी अपनाउनुपर्नेमा सरकारले जोड दिएको जानकारी उहाँले दिनुभयो । नेपालसँग सीमा जोडिएका भारतका प्रदेशमा समेत कोरोना संक्रमण देखिएकाले सरकारले नेपाल भारत सीमा क्षेत्रलाई थप व्यवस्थित बनाई परीक्षणसमेत शुरु गरेको बताउनुभयो । नेपालका दुई छिमेकी देश जोड्ने साना ठूला गरी कूल १२९ नाकामध्ये ४३ नाकामा स्वास्थ्यविन्दु स्थापना गरी परीक्षण शुरु गरिएको छ ।

१२८ स्थानीय तहलाई परिपत्र
विशेष गरी भारत हुँदै तेस्रो देशबाट नेपाल भित्रने विदेशी नागरिकको परीक्षणमा विशेष ध्यान दिइएको र सीमा क्षेत्रका नागरिक आवागनमा समेत परीक्षण गरेर मात्रै जाने गरी व्यवस्थापन गरिएको छ । अन्तरराष्ट्रिय सीमा जोडिएका कूल १२८ स्थानीय तहलाई २१ बुँदे विशेष परिपत्र गरिएको मन्त्री ढकालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“सरकारले प्रमुख जिल्ला अधिकारी र स्वास्थ्यकर्मीलाई जिल्ला नछाड्न निर्देशन दिएको छ । अस्पतालमा काम गर्ने जोखिमपूर्ण काम गर्ने जनशक्तिलाई भय र आतंकबाट जोगिने गरी काम गर्ने व्यवस्थापन गरिएको छ ।”

कूटनीतिकबाहेक अन्य प्रवेशाज्ञा रोकिएको छ । देशभित्र अध्ययनरत ५६ लाख विद्यार्थीमध्ये ५० लाख विद्यार्थीको परीक्षा यही चैत ५ गतेभित्र सक्ने गरी व्यवस्था मिलाइएको छ । यस्तै एसइई परीक्षाका लागि समेत सरकारले अवस्थाको मूल्यांकन गरेर आवश्यक निर्णय गर्ने उहाँले जानकारी दिनुभयो । चीनबाट नेपाली विद्यार्थी ल्याउने सन्दर्भमा सरकारले क्वारेन्टाइनको व्यवस्थापन गरेको र त्यसबाट सरकारले राम्रो व्यवस्थापन गरेको आमरुपमा स्थापित भएको जानकारी दिँदै सरकारले केही गर्दैन कि भन्ने विषयमा मन्त्री ढकालले भन्नुभयो, “राज्य अभिभावक हो, कोही बिरामी भए भने उपचारको व्यवस्था गर्छ, त्यसमा चिन्ता नलिनुस् ।”

उहाँले सरकारले दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउनका लागि हुनेसम्मका सबै पहल गरिएको जानकारी दिनुभयो । अत्यावश्यक औषधि तथा उपकरणको व्यवस्थापनका लागि विशेष प्रयत्न गरिएको उल्लेख गर्दै स्वास्थ्यमन्त्री ढकालले कुनै पनि अभाव हुन नदिइने स्पष्ट पार्नुभयो । बैठकमा स्वास्थ्यमन्त्रीको वक्तव्यमाथि सांसद रामनारायण बिडारी, प्रकाश पन्थ, कोमल वली, अनिता देवकोटा, विमला पौडेललगायतले कोरोनाको संक्रमण नियन्त्रणका लागि सरकारी निकायबीच समन्वय, सेल्फ क्वारेन्टाइन र कालोबजारी नियन्त्रणबारे सरकारको तयारीबारे जिज्ञासा राख्नुभएको थियो ।

अन्तर्राष्ट्रिय अवस्था
सन् २०१९ डिसेम्बरदेखि चीनको वुहानबाट फैलिएको कोरोनाका कारण ४६ देशका नागरिकको मृत्यु भएको छ । यसबाट विश्वका १५२ देशका कूल एक लाख ५६ हजार व्यक्ति प्रभावित भएका छन् । हालसम्म पाँच हजार ८३९ जनाको निधन भएको छ । संक्रमितमध्ये ७५ हजार ९३७ उपचारपछि घर फिर्ता भएका छन् । विश्वका ७४ हजार ९९० जना कोरोनाको संक्रमणमा छन् ।

बिरामीमध्ये ९२ प्रतिशत सामान्य रहे पनि आठ प्रतिशत जोखिममा छन् । मृत्युको हिसाबले ८० वर्षभन्दा माथिका व्यक्तिमध्ये १४.८ प्रतिशत छ । अन्तरराष्ट्रियस्तरमा क्यानडाली प्रधानमन्त्रीकी श्रीमती, अष्ट्रेलियाली गृहमन्त्री, बेलायती स्वास्थ्यमन्त्री तथा इरानी उपराष्ट्रपति र स्वास्थ्य राज्यमन्त्री संक्रमित हुनुभएको छ । यस्तै इरानका एक ५५ वर्षीय सांसदको निधन भएको छ । यसैगरी चीन भ्रमणपछि मंगोलियाका राष्ट्रपति १४ दिने क्वारेन्टाइनमा रहनुभएको छ ।

तपाईको प्रतिक्रिया