ब्याडमिन्टनमा चितवनको वर्चस्व

  चैत ०२, २०७६

भरतपुर, चैत २ : प्रथम चितवन राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । भरतपुरस्थित कभर्डहलमा २०० खेलाडीले सहभागिता जनाएको प्रतियोगिता शनिबार सकिएको हो । प्रतियोगितामा समावेश चार विधामध्ये महत्वपूर्ण तीन विधाको उपाधि चितवनका खेलाडीले जितेका छन् ।

प्रतियोगितामा सबैभन्दा चासोको पुरुष डबल ‘ए’ को उपाधि चितवनका खेलाडीले नै जितेका छन् । निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको फाइनल खेलमा चितवनका राजु थापा र विनोद पौडेलको जोडीले सहज जित हासिल ग¥यो ।

यी दुईले पोखराका विशाल खड्का र विशाल बस्नेतको जोडीलाई २–० को सोझो सेटमा पराजित गरे । चितवनले पहिलो सेट २१–१९ ले जितेको थियो भने दोस्रो सेट २१–१५ ले आफ्नो पक्षमा पा¥यो । चितवनलाई उपाधि दिलाउन घरेलु दर्शकको साथ पनि राम्रो रह्यो । खेल सकिँदा राति ८.१५ बजेको थियो । त्यतिबेलासम्म पनि दर्शकहरुले हुटिङ गर्दै साथ दिएका थिए ।

उपाधि जित्न सफल चितवनका थापा र पौडेलको जोडीले नगद रु ४० हजारका साथै शिल्ड, मेडल र प्रमाणपत्र पायो । उपविजेतामै सीमित पोखराका थापा र पौडेलको जोडीले नगद २० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । विजेता र उपविजेता खेलाडीलाई समापन कार्यक्रमका प्रमुख अतिथि चितवन जिल्ला खेलकूद विकास समितिका पूर्व अध्यक्ष गङ्गा लामाले पुरस्कार प्रदान गर्नुभएको कार्यक्रम संयोजक सुदन दराईले जानकारी दिनुभयो ।

यस्तै प्रतियोगिताअन्तर्गत पुरुष डबल ‘बी’ समूहको उपाधि चितवन जिल्ला ब्याडमिन्टन सङ्घका बुद्धि चौधरी र गोपाल पन्थीले हात पारे । यी दुईको जोडीले पूर्वी चितवन बेल्सीका विकास डल्लाकोटी र सन्देश बस्नेतलाई पराजित गरेको हो । खेल प्रतिस्पर्धात्मक बने पनि २–० को सोझो सेटमै सकिएको थियो । विजेता चौधरी र पन्थीको जोडीले नगद रु २५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो भने उपविजेता बनेको बेल्सीका डल्लाकोटी र बस्नेतले नगद रु १३ हजार, र शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त ग¥यो ।

त्यसैगरी प्रतियोगिताअन्तर्गत पुरुष भेट्रान्स (४५ वर्षमाथि)को उपाधि चितवन ब्याडमिन्टन सङ्घका बुद्धि चौधरी र सुरेश श्रेष्ठको जोडीले जितेको छ । चितवनले तनहुँका टिक थापा र मोनबहादुर रानाको जोडीलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । विजयी टिमले रु ३० हजार शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो भने उपविजेता तनहुँले नगद रु १५ हजार, शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त ग¥यो ।

त्यस्तै सुपर भेट्रान्स (५५ वर्ष माथि)को उपाधि बागलुङले जितेको छ । बागलुङका राजेन्द्र शाक्य र विष्णु श्रेष्ठको जोडीले चितवनका पुष्प श्रेष्ठ र राजु थापाको जोडीलाई पराजित गर्दै उपाधि जित्न सफल भयो । निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो अग्रता लिएको चितवनले लगातार दुई सेट गुमाउँदा २–१ ले पराजित भएको थियो ।

पहिलो सेटमा चितवनले उत्कृष्ट जित हासिल गरेको थियो । दोस्रो र तेस्रो सेटमा बागलुङले उत्कृष्ट पुनरागमन गर्दै उपाधि उचालेको हो । विजयी समूहले नगद रु १० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो भने उपविजेता टोलीले नगद रु पाँच हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।

प्रतियोगिता नेपाल खेलाडी तथा प्रशिक्षक सङ्घ, चितवनले आयोजना गरेको हो । प्रतियोगिताको सहयोगी संस्थामा नेपाल ब्याडमिन्टन सङ्घ, चितवन र जिल्ला खेलकूद समिति रहेका थिए ।

तपाईको प्रतिक्रिया