‘ग्यास र खाध्य वस्तुको चिन्ता नगर्नुहोस्, आपूर्तिको जिम्मा मेरो हो’

  चैत ०२, २०७६

कोरोनाको त्रास बढेसँगै बजारमा ग्यास, चामलजस्ता अत्यावश्यक वस्तुहरुको अभाव हुन्छ भन्ने हल्ला बढेको छ । मुलुकको आपूर्ति व्यवस्थामा के कस्ता समस्या छन् । अति आवश्यक वस्तुको आपूर्ति व्यवस्था कत्तिको सहज रहेको छ । कालोबजारी र कृत्रिम अभाव रोक्न मन्त्रालयले के कस्तो तयारी गरिरहेको छ भन्नेबारे उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसँग गरिएको कुराकानीको सम्पादित अंश :

कोरोनाको त्रासले नेपालको आपूर्ति व्यवस्था प्रभावित भएको हो ? कतिपय वस्तुको अभाव देखिन थालेको छ ।
कोरोना विश्वव्यापी र ठूलो समस्या हो । तर, हामी यसको संक्रमणमा अहिले छैनौं । त्यसैले, तत्कालै नेपालको बजारमा यसको असर देखिनुपर्ने कुनै कारण नभएको सरकारकोे ठम्याइ छ । बजारमा विभिन्न वस्तुहरु हराएको भन्ने रिपोर्टहरु प्राप्त भएका छन् । तर, यो आपूर्ति व्यवस्था बिग्रिएर नभई जनतामा देखिएको मनोवैज्ञानिक त्रासले हो । यो गम्भीर छ । किनभने, जनता त्रसित हुनुपर्ने कारण केही छैन । जनताको दैनिकी बिग्रिने गरी नेपालको आपूर्ति व्यवस्था बिग्रिएको होइन । अहिले त्यस्तो अवस्था छैन ।

तर, ग्यास चामलजस्ता अत्यावश्यक वस्तुको अभाव हुने हो कि भनेर जनतामा त्रास त देखिइसकेको छ नि ?
कोरोनाविरुद्ध लड्न उपप्रधानमन्त्रीको संयोजकत्वमा बनेको उच्चस्तरीय समितिले समग्र विषयको नेतृत्व लिएको छ । त्यसमा म पनि छु । आज पनि उक्त समितिको बैठक बसेको थियो । समितिले देशमा देखिन सक्ने सबै क्षेत्रको असरको पाटोमा क्षेत्रगत पूर्वतयारी गर्छ ।

स्वास्थ्य, गृह, उद्योग तथा वाणिज्य, पर्यटन, कृषिलगायतका मन्त्रालयहरुले आफ्नो क्षेत्रमा निभाउनुपर्ने भूमिका र तहगत ढंगबाट कामको वर्गीकरण गरेर काम अगाडि बढाउने विषयमा गम्भीर छलफल भएको छ । व्यक्तिगतरुपमा म र मेरो मन्त्रालय तथा समग्र सरकार जनतासँगको समस्यामा साथै छौं ।

बुँदागतरुपमा भन्नुपर्‍यो भने आपूर्ति मन्त्रालयले चाहिँ के के गर्दैछ ?
बजारको त्रसित अवस्थाबारे हामीलाई भएको रिर्पोटिङका आधारमा सबै महाशाखा, विभाग, कम्पनी र निगमहरुलाई चुस्त रहन निर्देशन भएको छ । आपूर्ति व्यवस्था सहज र सरल बनाउन तथा अभावको अवस्था आउँछ भन्ने त्रास पालेर सञ्चय नगर्न जनतालाई सुसूचित पार्न मैले निर्देशन गरेको छु । सबै साथीहरु खटिनुभएको छ । समग्र विषयमा छलफल गर्न आज पनि मन्त्रालयमा बृहत बैठक भएको छ ।

माक्सलगायत अति आवश्यक हुने वस्तुहरु विदेशतिर निर्यात हुन थाल्यो भन्ने चर्चा छ । मन्त्रालयले यसबारे के गर्दैछ ?
मन्त्रालयले अहिले अति आवश्यक वस्तुहरुको सूची बनाउँदैछ । यसमा आयात हुने मुलुकबाट हामीलाई प्राप्त हुने वस्तुहरु के के हुन् र हामीले निर्यात गर्ने वस्तुहरु के–के हुन भन्ने अध्ययन हुन्छ । मुलुकका लागि अति आवश्यक वस्तु छन् भने तिनको निर्यात रोक्ने तयारी गरेका छौं । त्यसैगरी अतिआवश्यक वस्तुहरु आयात हुने मुलुकमा हाम्रो आवश्यकता अनुसार सहयोग गर्नका लागि कूटनीतिक एवं मन्त्रालयगत तहबाट वार्ता र छलफल थालिसकेका छौं ।

बजारको कृत्रिम अभाव रोक्न मन्त्रालयले के गर्दैछ ?
मैले सुनेको छु, मानिसहरु ग्यास, चामलजस्ता वस्तुहरुको अनावश्यक भण्डारणतर्फ लागेका छन् । यो आपूर्ति व्यवस्था बिग्रिएर नभई मनौवैज्ञानिक त्रासले गर्दा भएको हो । जनतालाई मेरो फेरि पनि आग्रह छ– मनोवैज्ञानिक त्रास त्याग्नुस् ।

प्रथमतः बजारमा हुने कुनै पनि अभाव चिर्न नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङमार्फत हामी हस्तक्षेपकारी भूमिका खेल्छौं । हाम्रो तयारी सुरु भइसकेको छ । बजारमा जुन वस्तुको अभाव हुन्छ, त्यसैमा सरकारका कम्पनीले हस्तक्षेप गर्ने गरी दायरा बढाउन निर्देशन भएको छ ।

अर्कोतर्फ चेम्बर अफ कमर्श, उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ लगायतका संस्थाहरुसँग पनि छलफल गर्दैछौं । बजारमा हुन सक्ने अवाञ्छित गतिविधि र आपूर्ति व्यवस्था सहजताका लागि उहाँहरुलाई पनि जिम्मेवार बनाउँछौं ।

तर, केही वस्तुहरुमा भइरहेको कालोबजारी रोक्न सरकारको भूमिका कमजोर भयो भन्ने गुनासो आइरहेको छ नि ?
बजारमा हुने कालोबजारी रोक्नका लागि वाणिज्य विभागअन्र्तगत विशेष टास्कफोर्स गठन हुन्छ । जनता आत्तिनुपर्ने अवस्था छैन । आम जनतालाई मेरो आग्रह छ– तपाईंहरु अभाव हुने मनावैज्ञानिक त्रासबाट माथि उठ्नुस् । कुनै पनि वस्तु भण्डारण नर्गनुस् । देशमा कुनै पनि वस्तु अभाव हुन नदिने जिम्मा मेरो हो ।

बजारमा व्यवसायीले कुनै पनि ढंगबाट अभाव सिर्जना गरे भने पहिलो कुरा राज्यले हस्तक्षेप गर्छ । दोस्रो– बजारमा हुने अभाव चिर्न सरकारी दुई कम्पनीले वस्तु बिक्री वितरण गरेर बजारलाई सन्तुलनमा ल्याउँछन् । राज्यप्रति विश्वास गर्नुस् । आतिनुपर्ने अवस्था छैन । सबै कुरा ठिकै अवस्थामा छ । सरकारले सबै संयन्त्र प्रयोग गरेर आफ्नो तयारी थालेको छ ।

आपूर्ति व्यवस्था सहज बनाउँदै स्वदेशी उद्योग बचाउन कार्ययोजनाका साथ मन्त्रालयले काम गर्दैछ । यसको नतिजा चाँडै नै हामी तपाईहरुलाई दिनेछौं । म फेरि पनि आग्रह गर्छु– म मन्त्रालयमा बसेर दिनरात खट्नेछु । आम जनतालाई कुनै पनि वस्तुको अभाव हुन दिने छैन ।

आपूर्ति व्यवस्था सहजताका लागि छिमेकी मुलुकसँग पनि समन्वय भएको छ कि ?
औषधि रोक्ने भारतको निर्णयबारे हिजै भारतसँग कुरा भएको छ । वाणिज्य सचिव पनि यो विषयमा गम्भीर ढंगले खटिनुभएको छ । हामीले गरेको कुराकानीमा भारतीय पक्षले सकारात्मक जवाफ दिएको छ । हामीलाई आवश्यकता पर्दा गरिने अनुरोधमा कुनै पनि वस्तु नरोक्ने जानकारी भारतीय पक्षले दिएको छ । सरकारका सबै च्यानलबाट भारतसहितका मुलुकहरुसँग छलफल भइराखेको छ । अभाव हुन सक्ने डरले आफ्ना उत्पादन र कच्चा पदार्थ भण्डारणमा जोड दिन खोज्नु स्वभाविक नै हो । तर, त्यसको विकराल असर यहाँ पर्छ भनेर बुझ्नु अलि हतारो हुनेछ ।

तर, बजारमा अभाव देखिन थालिसक्यो, जनताले कसरी पत्याउने ?
जनता आफैंमा अनुगमनकर्ता हुन् । म जनताले निर्वाचित गराएर पठाएको मान्छे हुँ । म राष्ट्र र जनताप्रति उत्तरदायी छु । जनताको समस्या भनेको राष्ट्रको समस्या हो । हाम्रो संयन्त्रले पनि सूचना लिएर बजार सन्तुलन गर्ने काम गर्छ । जनताले जे विषयमा अभाव र कालोबजारी भएको पाउँछन्, तुरुन्तै म वा हाम्रो मातहतका निकायलाई सूचना दिन म अनुरोध गर्छु ।

व्यक्तिगतरुपमा म र हाम्रो मन्त्रालय बजारमा हुने कृत्रिम अभाव र कोलाबजारीविरुद्ध शून्य सहनशीलताको सिद्धान्तमा अगाडि बढेको छ । हामी निर्मम हुन्छौं, यसमा कुनै मोलाहिजा हुँदैन । व्यवसायीलाई पनि मैले भनेको छु– कानून तोड्ने काम कसैले नगरौं । यदि कसैले कानून तोडेको पाइएमा राज्यले त्यसलाई छोड्दैन ।

तपाईको प्रतिक्रिया