जोगवनी नाका बन्द हुने जानकारी छैन : प्रजिअ

  चैत ०२, २०७६

विराटनगर, चैत २ : भारत सरकारले नेपालका चारवटा बाहेक सबै सीमा नाकाबाट यात्रुलाई आवतजावत गर्न रोक लगाएको भन्ने व्यहोराको सूचना जारी गरेपछि सर्वसाधारण अन्योलमा परेका छन् ।

भारत सरकारले जारी गरेको सूचनामा बिहारको रक्सौल, उत्तरप्रदेशको सुनौली, उत्तराखण्डको वनबासा र पश्चिम बङ्गालको रानीगञ्ज (काँकडभिट्टा) बाहेक सबै नाकाबाट यात्रुको आवतजावत बन्द गर्न निर्देशन दिएको हो । भारतले आइतबार रातिबाट निर्देशन कार्यान्वयन हुने उल्लेख गरेको छ ।

प्रदेश १ को सबैभन्दा ठूलो रानी–जोगवनी नाकाबाट यात्रुको आवतजावत बन्द हुने वा खुला रहने भन्ने विषयमा चासो बढेको छ । भारत सरकारले जारी गरेको निर्देशन अनुसार जोगवनी नाका पनि बन्द हुने देखिन्छ ।

तर मोरङका प्रमुख जिल्ला अधिकारी मनोज भुजेलले भारतले जारी गरेको आन्तरिक निर्देशन नेपालको हकमा नभएको बताउनुभएको छ । ‘यो नेपालीको हकमा लागू हुने मैले बुझेको छैन, मैले दिउँसो अररिया जिल्लाका समकक्षीसँग पनि जानकारी लिने प्रयास गरेको थिएँ, त्यहाँबाट पनि नेपालको हकमा लागू नहुने जानकारी आएको छ’–‘मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले भन्नुभयो ।

उहाँले दुवैतर्फ स्वास्थ्य परीक्षणको उचित प्रबन्ध गर्ने र चेक पोष्टमा त्यसमा थप कडाइ गर्ने काम भने हुनसक्ने जानकारी दिनुभयो । विराटनगर भन्सार कार्यालयका प्रमुख शिव भण्डारीले कार्यालयलाई अहिलेसम्म यात्रुको आवतजावत बन्द हुनेबारे कुनै जानकारी नआएको जानकारी दिनुभयो ।

‘यात्रुको विषय भन्सारसँग सम्बन्धित छैन तर पनि अहिलेसम्म हामीलाई त्यस विषयमा कुनै औपचारिक निर्देशन वा जानकारी आएको छैन, मैले पनि समाचारमार्फत् सुनिरहेको छु तर यो नेपालीको हकमा नभई तेस्रो मुलुकका यात्रुको सवालमा हुनसक्छ,’ भन्सार प्रमुख भण्डारीलाई उद्धृत गर्दै गोरखापत्र अनलाइनले जनाएको छ ।

शनिबार साँझसम्म जोगवनी तर्फको आवतजावत सुचारु रहेको छ । भारत सरकारले तोकिएको बाहेक अन्य नाकाबाट यात्रुको आवतजावत पूर्ण बन्द गर्ने भने पनि मालबाहक सवारी साधनहरुको आवतजावतमा कुनै समस्या हुने छैन ।

तपाईको प्रतिक्रिया