नगर प्रमुखले गाडी छाडेर रोलर किने

  चैत ०१, २०७६

सप्तरी, चैत १ : सप्तरीको सप्तकोशी नगरपालिकाले नगरप्रमुखका लागि गाडी किन्न छुट्याएको रकमले रोलर र पानी हाल्ने ट्याङ्की खरिद गरेको छ । नगरप्रमुख उत्तमकुमार शर्माका लागि गाडी किन्न छुट्याइएको रकमले सडक निर्माणका लागि प्रयोग गरिने रोलर र पानी हाल्ने ट्याङ्की खरिद गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको २०७६ असार ३१ गते सम्पन्न नगरसभाले प्रमुखका लागि गाडी खरिद गर्न ५० लाख छुट्याएको थियो । सोही रकमबाट ४२ लाखमा रोलर र छ लाखमा पानी हाल्ने ट्याङ्की खरिद गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत ललनकुमार कर्णले जानकारी दिए ।

नगरपालिकामा रहेको स१ज ४९० नम्बरको गाडी प्रमुख प्रशासकीय अधिकृत तथा कार्यालय प्रयोजनका लागि प्रयोग हुँदै आएको छ । नगरप्रमुख र उपप्रमुखका लागि गाडी अभाव भएपछि नगरसभाले नै गाडी खरिद गर्ने निर्णय गरेको थियो । तर, गत मङ्सिरमा बसेको कार्यपालिकाको बैठकले गाडीलाई छुट्याएको बजेट रकमान्तर गरी निर्माणका लागि प्रयोग हुने उपकरण खरिद गर्ने निर्णय गरेको नगरउपप्रमुख आशा चौधरीले जानकारी दिए ।

‘नगरको आवश्यक्ताअनुसार उक्त निर्णय गरिएको हो’, नगरप्रमुख शर्माले भने । नगरपालिकाले नगरवासीको आवश्यक्तालाई मध्यनजर गरी एक महिनाभित्र एम्बुलेन्स सञ्चालनमा ल्याउने गरी खरिदको प्रक्रियासमेत अघि बढाएको छ । ‘सामान्य अवस्थाबाहेक अधिकांश बिरामीलाई उपचारका लागि राजविराज, धरान र विराटनगर पु¥याउनुपर्ने हुनाले नगरपालिकाले आफ्नै एम्बुलेन्स सञ्चालनमा ल्याएर नागरिकलाई सुविधा दिन खोजेको हो’, नगरप्रमुख शर्माले भने ।

अधिकांश स्थानीय तहले विकास बजेटबाट सवारीसाधन खरिद गरेर आलोचना खेपिरहेका बेला सप्तकोशी नगरपालिकाले निर्माणका लागि प्रयोग हुने उपकरण खरिद गरेर उपयुक्त निर्णय गरेको स्थानीय न्यासुर तामाङले बताए  ।

तपाईको प्रतिक्रिया