राप्ती लोकमार्गका खाल्डाखुल्डी पुरिँदै

  चैत ०१, २०७६

तुलसीपुर, चैत १ : राप्ती लोकमार्गअन्तर्गत दाङको लमही–तुलसीपुर सडकखण्डबीचका खाल्डाखुल्डी पुर्न थालिएको छ ।

तुलसीपुरको वीरेन्द्र चोकदेखि झञ्ज्याङसम्म पाँच हजार ६०० वर्ग मिटर दूरीमा परेका खाल्डाखुल्डी पुर्न थालिएको सडक डिभिजन कार्यालय दाङका सव–इञ्जिनीयर नारायण दाहालले बताए  ।

कार्यालयको ३२ लाख लगानीमा उक्त काम शुरु भएको उनको भनाइ थियो । सडकबीचमा खाल्डाखुल्डी भएपछि दुर्घटनाको जोखिम बढेको भन्दै पुर्ने काम शुरु भएको दाहालले बताए  । त्यस्तै नाला मर्मत गर्ने काम समेत थालिएको छ । उनले भने, ‘ दुर्घटना न्यूनीकरण गर्नका लागि खाल्डाखुल्डी र नाला मर्मत गर्न थालेका हौँ ।’

फागुन दोस्रो सातादेखि शुरु भएको उक्त काम एक÷डेढ महिनामा सकिने बताइएको छ । ‘फागुन अन्तिम दिनसम्म सक्ने गरी सम्झौता भएको हो, तर काम ढिला शुरु भयो’, उनले भने ।

चिसोमा कालोपत्रे गर्दा गुणस्तरीय नहुने भएपछि ढिला गरी काम शुरु गरेको बताइएको छ । सो कार्यको जिम्मा पे्रमधन निर्माण सेवाले लिएको छ । सडक डिभिजन कार्यालयलाई वर्षेनी १० देखि २९ किलोमिटर सडकबीचमा परेका खाल्डाखुल्डी पुर्ने गरी बजेट आउने गर्छ । अहिले राप्ती लोकमार्गअन्तर्गत धेरै स्थानमा खाल्डाखुल्डी भए पनि दाङ खण्डको तुलसीपुर बजारदेखि भञ्ज्याङसम्म मात्रै काम गर्ने गरी बजेट आएको बताइएको छ ।

तपाईको प्रतिक्रिया