मास्क कालोबजारी गर्ने ११ फार्मेसी कारबाहीमा, साढे २५ लाख जरिवाना 

  चैत ०१, २०७६

काठमाडौं, चैत १ : कोरोना भाइरसका कारण सर्जिकल मास्कको अभाव भएको मौका छोपेर कालोबजारी गर्ने ११ फार्मेसीलाई सरकारले कारबाही गरी साढे २५ लाख रुपैयाँ जरिवाना गरेको छ । अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मास्कको कालोबजारी नियन्त्रण गर्न ‘उपभोक्ता संरक्षण ऐन, ०७५’अन्तर्गत व्यवसायीलाई कारबाही गरेको हो । विभागले ११ फागुनयता सर्जिकल मास्कको कालोबजारी नियन्त्रणका लागि विशेष अनुगमन सुरु गरेयता २५ लाख ४० हजार रुपैयाँ जरिवाना तिराइसकेको छ ।

विभागको अनुगमन प्रतिवेदनअनुसार ११ फागुनमा क्षेत्रपाटीस्थित बिबिआर इन्टरप्राइजेजमा अनुगमन गर्दा व्यवसाय प्रमाणपत्र देखाउन नसकेको पाएपछि १ लाख रुपैयाँ जरिवाना गरिएको थियो । नयाँ उपभोक्ता संरक्षण ऐनले अनुगमनस्थलमै कैफियतका आधारमा जरिवाना तोक्न निरीक्षण अधिकृतलाई अधिकार दिएको छ । 

अनुगमनका क्रममा ११ औषधि पसललाई २–२ लाख र एउटालाई १ लाख रुपैयाँ जरिवाना तिराएको छ । विभागका अनुसार क्षेत्रपाटीमा रहेका नेपाल केयर सर्जिकल सप्लायर्स, आइज्याक हस्पिटल सपोर्ट, पुरी सर्जिकल इक्युपमेन्ट, शुभम् हेल्थ केयर्स प्रोडक्ट्स ओएसबी इन्टरप्राइजेजलाई जनही २ लाख जरिवाना तिराइएको छ । 

त्यसैगरी, वीर अस्पतालमा रहेको आयुस फार्मेसी, पुल्चोकस्थित बिदा अल्का फार्मेसी युनिट (क), जावलाखेलमा रहेको सदीक्षा मेडिकल हल, पुल्चोकमा रहेको गौतम फार्मेसी एन्ड डाइग्नोस्टिक सेन्टर र कुपन्डोलमा रहेको शुभ सर्जिकल इक्युपमेन्टलाई पनि जनही २ लाखका दरले जरिवाना तिराइएको छ । विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले कालोबजारी गर्ने, बिलबिजक देखाउन नसक्ने, व्यवसाय दर्ता प्रमाणपत्र नभएकालगायत कैफियतमा कडाइका साथ कानुन कार्यान्वयन गर्नेक्रममा उपभोक्ता अधिकारविपरीत व्यवसाय गर्नेलाई जरिवाना तिराउँदै आएको बताए । ‘मास्कजस्तो संवेदनशील वस्तुको कारोबार तोकिएभन्दा बढी मूल्य लिएर व्यवसाय गर्न चाहनेलाई कानुनले छुट दिने कुरा हुँदैन,’ उनले भने । 

विभागले दुई सातायता २९ औषधि पसललाई कारबाही गरेको जनाएको छ । यसक्रममा त्रिपुरेश्वरमा रहेको गौतम इन्टरनेसनल, दृष्टि सर्जिकल हाउस, मेडिहेल्थ सर्जिकल, स्वस्तिमा सर्जिकल सप्लायर्स र क्षेत्रपाटीमा रहेको एस जे मोडिको सर्जिकल, काठमाडौं ट्रेड कन्सर्न, स्पेन्डिड ट्रेडर्स, मामा–भान्जा टे«ड कन्सर्नलाई जनही २० हजार रुपैयाँ जरिवाना तिराइएको छ । थप केही सर्जिकल पसललाई ५ हजारदेखि १५ हजार रुपैयाँसम्म जरिवाना तिराइएको विभागले जनाएको छ । उपभोक्ताको उजुरीकै आधारमा बुधबार बानेश्वर तथा क्षेत्रपाटीका औषधि पसलमा अनुगमन गरी विभागले मास्कमा बढी मूल्य लिने, दर्ताविनै पसल सञ्चालन गर्ने र बिलबिजक जारी नगर्ने ११ औषधि पसललाई ८ लाख ८० हजार रुपैयाँ जरिवाना तिराएको थियो ।

पर्याप्त मौज्दात रहेकाले नआत्तिन आग्रह

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मास्कलगायत दैनिक उपभोग्य वस्तुको पर्याप्त मौज्दात रहेका उपभोक्तालाई बढी मौज्दात नगर्न आग्रह गरेको छ । मन्त्रालयले बुधबार र बिहीबार सबै क्षेत्रका व्यवसायीसँग रहेको अत्यावश्यक वस्तुको मौज्दात वितरण लिएको थियो । मन्त्रालयकी उपसचिव उर्मिला केसीले सबै क्षेत्रका व्यवसायीलाई डाकेर मौज्दात परिमाण र वितरण प्रणालीबारे जानकारी लिएको बताइन् । उनले भनिन्, ‘हामीले सबै तहका व्यवसायीसँग के–कति सामान छ ? भनेर सोधेका थियौँ, त्यसक्रममा उनीहरूले कम्तीमा २–३ महिनालाई पुग्ने गरी मौज्दात रहेको बताए ।’ नयाँ पत्रिकाबाट साभार

तपाईको प्रतिक्रिया