विकिलिक्ससँग जोडिएकी अमेरिकी पूर्वगुप्तचर म्यानिङ जेलमुक्त

  फागुन ३०, २०७६

भर्जिनिया, फागुन ३० : अमेरिकी एक सङ्घीय न्यायाधीशले बिहीबार सेनाका पूर्वगुप्तचर विश्लेषक चेल्सी म्यानिङलाई रिहा गर्ने आदेश दिनुभएको छ । म्यानिङ झण्डै एक वर्षदेखि जेलमा हुनुहुन्थ्यो । उहाँलाई ग्रान्ड जुरीसमक्ष उपस्थित हुन अस्वीकार गरेपछि जेलमा राखिएको थियो ।

सरकारी वकीलहरुले ग्रान्ड जुरी विघटन गरिएको अदालतसमक्ष जानकारी गराएपछि अमेरिकी जिल्ला न्यायाधीश एन्थोनी ट्रेंगाले म्यानिङलाई जेलबाट रिहा गर्ने आदेश दिनुभएको थियो । अलेक्जान्ड्रिया प्रहरी कार्यालयले बिहीबार राति नै म्यानिङलाई जेलमुक्त गरिएको जनाएको छ ।

विकिलिक्ससमेतको अनुसन्धान गरिरहेको ग्रान्ड जुरी समक्ष उपस्थित हुन अस्वीकार गरेको अभियोगमा म्यानिङमाथि दुई लाख ५६ हजार अमेरिकी डलर जरिबाना गर्न न्यायाधीशले यसअघि आदेश दिनुभएको थियो । उक्त जरिबाना प्रतिदिन एक हजार डलरका दरले हुनेगरी तोकिएको थियो ।

यसै मुद्दामा आगामी शुक्रबारका लागि तोकिएको सुनुवाई पनि रद्द गरिएको छ । म्यानिङले अलेक्जान्ड्रिया जेलमा आफूलाई राखिए पनि जबर्जस्ती बयान गराउन बाध्य बनाउन नसकिने दाबी गरिरहनु भएको थियो । म्यानिङले गत बुधबार जेलमा छँदा आत्महत्या गर्ने प्रयास गरेको उहाँका वकीलले दाबी गरेका छन् ।

विकिलिक्सको अनुसन्धान गरिरहेको ग्रान्ड जुरीसमक्ष बयान दिन इन्कार गरेको भन्दै अदालतको आदेशमा म्यानिङलाई गतवर्ष मे महिनादेखि जेलमा राखिएको थियो । सन् २०१९ मा पनि अर्को एक ग्रान्ड जुरी समक्ष बयान दिन अस्वीकार गरेको अभियोगमा उहाँलाई दुई महिना थुनामा राखिएको थियो ।

पछिल्लो ग्रान्ड जुरीको कार्यावधि अरु बढाइएको भए उहाँको जेल अवधि अरु छ महिना लम्बिने सम्भावना थियो । म्यानिङले यसअघि विकिलिक्सका संस्थापक जुलियन असान्जलाई गोप्य वर्गीकृत सूचना दिएको आरोपमा सात वर्ष सैनिक कारागारमा बिताइसक्नु भएको छ । असान्जमाथि अलेक्जान्ड्रिया अदालतमा एक अभियोग विचाराधीन अवस्थामा छ र बेलायतबाट अमेरिकामा प्रत्यर्पणका लागि प्रयास जारी छ ।

म्यानिङमाथि सुनाइएको ३५ वर्षको जेल सजाय तत्कालीन राष्ट्रपति बराक ओबामाले राष्ट्रपतिको शक्तिको प्रयोग गरी कटौती गर्नुभएको थियो । यो सम्भव छ कि अभियोजन पक्षले अर्को ग्रान्ड जुरी गठन गर्न सक्नेछन् र फेरि म्यानिङलाई बयानका लागि उपस्थित हुन अनुरोध गर्न सक्नेछन् ।

उहाँले बयान दिन अस्वीकार गरेको खण्डमा पुनःजेल सजाय हुन सक्छ तर अभियोजकले तत्काल ग्रान्ड जुरी गठन हुने वा नहुने बारे केही बताएका छैनन् । अभियोजकले म्यानिङको रिहाइका बारेमा टिप्पणी गर्न अस्वीकार गरेका छन् ।

तपाईको प्रतिक्रिया