गौशालाका ५५ घरपरिवार मुसहरले पाएनन् लालपूर्जा

  फागुन ३०, २०७६

गौशाला, फागुन ३० : विश्वासका भरमा बिनाकागजात जग्गा खरिद गरेको वर्षौ बित्दासमेत आफ्ना नाममा लालपूर्जा नपाएपछि महोत्तरी गौशाला नगरपालिकाका दर्जनौँ मुसहर घरपरिवार चिन्तित भएका छन् । गौशाला–१० स्थित मुसहर बस्तीका ५५ घरपरिवार वर्षौँ पहिले बसोबास गर्नका लागि खरिद गरेको जग्गाको नामसारी नहुँदा चिन्तित भएका हुन् ।

वर्षौँ पहिले आफ्नो बाबु र हजुरबुबालाई स्थानीयवासी खेमराज ढकाल र ब्रह्मानन्द ढकालले बसोबासका लागि केही रकम लिएर जग्गा बिक्री गरेका थिए । तर, अहिलेसम्म पनि सो जग्गा आफ्नो नाममा हुन नसकेको स्थानीयवासी झौली सदाले बताउनुभयो । उमेरले ६५ वर्षका रहेका झौली सदाले भन्नुभयो, “आफूले जीवनमा अनेकौ पटक ढकाल दाजुभाइलाई जग्गा नामसारीका लागि आग्रह गरिएको थियांै । तर, उनीहरू समक्ष गरिएको प्रयास असफल भएको छ । अनेकौंपटक जग्गाको सम्बन्धमा खेमराज र ब्रह्मानन्द ढकालसमक्ष आग्रह गरिएको तर कुनै सुनवाइ हुनसकेको छैन ।”

डेढ बिघा क्षेत्रफलमा आफूहरूको ६० घरपरिवारले बसोवास गर्दै आएका समाजका अगुवा (माईजन) मुकुन्द सदाले जानकारी दिनुभयो । मुकुन्द सदाले अगाडि भन्नुभयो, “अहिलेसम्म हामीहरूको विश्वासको भरमा जग्गामा घर बनाएर बसोबास गर्दै आएका छौँ । कही कुनै किसिमको अप्ठ्यारो भएन । ढुक्कका साथ बस्दै आएका छाँै ।” अब आफूहरूलाई चिन्ताले सताउन थालेको सदाले उल्लेख गर्दै थप्नुभयो–“अब नाम सारिको प्रक्रियामा लाग्नुपर्छ । समय अनुसार मान्छेको सोचाई परिवर्तन हुने भएकोले अधिक विश्वास गर्दा पनि मान्छेलाई वेफाईदा हुन्छ । आफुहरूले यस विषयमा जानकारवालासँग छलफल गरि कदम उठाउनु पर्ने आवश्यक रहेको छ ।”

विसं १९८० मा सिरहाबाट मजदूरीका लागि आएका मुसहर समुदायलाई स्थायी रूपमा बसोवास गर्न स्थानीय ढकाल दाजुभाइले सो जग्गा उपलब्ध गराएको प्रकाशबहादुर श्रेष्ठले बताउनुभयो । श्रेष्ठ भन्नुहुन्छ, “जग्गा खरीदबिक्री भएको दशकौ बितिसकेको छ । यस अवधिमा जग्गा खरिद गर्ने र बिक्री गर्ने दुवै पक्षमध्ये अधिकांशको मृत्यु भइसकेको छ ।” अब सरकारले नै उनीहरूको समस्याको सम्बन्धमा पैरवी गर्न सकिने श्रेष्ठले धारणा राख्नुभयो ।

मुसहर समुदाय आर्थिक रूपमा विपन्न, अशिक्षित भएकै कारण उनीहरूलाई सुलभ रूपमा विश्वास कायम गरी जग्गाधनीले वर्षौ बित्दासमेत नामसारी नगरिदिँदा मुसहर समुदायमा कसैको नाममा लालपूर्जा नरहेको स्थानीय नेता मनु अधिकारीले बताउनुभयो । वर्षौँ पहिले खिरखिरिया डाँडाले परिचित रहेको सो स्थानमा सिरहाबाट आएका मुसहर जग्गा खरिद गरी बस्ती बसालिएको नेता अधिकारीले जानकारी दिनुभयो । सो जग्गा अहिले कानूनरूपमा नभए पनि स्थानीयवासीले भोगचलनको आधारमा मौखिक रुपमै जग्गाको समेत कारोवार गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया