सिन्धुपाल्चोकका ८० प्रतिशत विद्यालय पुनःनिर्माण

  फागुन ३०, २०७६

मेलम्ची, फागुन ३० : भूकम्पमा क्षतिग्रस्त सिन्धुपाल्चोकका ८० प्रतिशत विद्यालय पुनःनिर्माण सम्पन्न भएका छन् । भूकम्पपछि चार वर्षको माध्यमिक शिक्षा परीक्षा(एसइई) परीक्षा अस्थायी सिकाइ केन्द्रमै सञ्चालन भएको थियो ।

परीक्षा केन्द्र कायम भएका केही विद्यालय भारतीय राजदूतावासमार्फत निर्माण शुरु गरिए पनि टहरामै बसेर परीक्षा दिन भने नपर्ने जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा)का इञ्जिनीयर शेरबहादुर पुजाराले बताउनुभयो ।

यस वर्ष जिल्लाबाट चार हजार १०४ परीक्षार्थी एसइइमा सहभागी हँुदैछन् । परीक्षार्थीमध्ये एक हजार ८३४ छात्र र दुई हजार २६७ छात्रा छन् । भूकम्पपछि अस्थायी सिकाइ केन्द्रमा नै एसइई परीक्षा सञ्चालन हुने गरेको भए पनि सबै विद्यालय पुनःनिर्माण सम्पन्न भएपछि यस वर्ष भने परीक्षार्थीले सुविधासम्पन्न विद्यालयमा बसेर परीक्षा दिन पाउने भएका छन् ।

शिक्षा विकास तथा समन्वय एकाइले एसइई परीक्षाका लागि २३ परीक्षा केन्द्र निर्धारण गरेको छ । सम्बन्धित परीक्षा केन्द्रका प्रधानध्यापकलाई नै केन्द्राध्यक्षको जिम्मेवारी दिइएको समन्वय एकाइ सिन्धुपाल्चोकका प्रमुख कृष्ण सुवेदीले जानकारी दिनुभयो । जिल्लाका सामुदायिक र संस्थागत गरी यस वर्ष १४९ विद्यालयका विद्यार्थी एसइईमा सहभागी हुन लागेको प्रमुख सुवेदीले जानकारी दिनुभयो । सामुदायिक १३६ र संस्थागत १३ विद्यालय छन् ।

एसइई परीक्षाका लागि सबै केन्द्रमा प्रश्नपत्र र उत्तरपुस्तिकासमेत लगिसकिएको छ । माध्यमिक परीक्षा सञ्चालक समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायत अन्य सुरक्षा निकायसँग समन्वय गरेर परीक्षा केन्द्रमा सुरक्षाकर्मीसमेत खटाइएको प्रमुख सुवेदीले जानकारी दिनुभयो ।

प्राविधिकधारतर्फ एसइईमा सहभागी हुने सबै परीक्षार्थीका लागि सदरमुकाम चौतारास्थित कृष्णरत्न गङ्गा माविमा परीक्षा केन्द्र निर्धारण गरिएको छ । प्राविधिकधारतर्फ यस वर्ष १३२ परीक्षार्थी सहभागी हँुदैछन् । सिन्धुपाल्चोकमा चार सामुदायिक विद्यालयमा बाली विज्ञान र सिभिल इञ्जिनीयरिङ विषयका पढाइ हुने गरेको छ ।

त्यस्तै ग्रेडवृद्धि परीक्षामा पनि १६ परीक्षार्थी सहभागी हुन लागेको समन्वय एकाइका प्रमुख सुवेदीले जानकारी दिनुभयो । तेइस परीक्षा केन्द्रमध्ये शारदा मावि बाह्रबीसेमा सबैभन्दा बढी ३६३ तथा सबैभन्दा कम महेन्द्रकान्ति मावि कालिकामा ८१ परीक्षार्थी मात्रै छन् ।

परीक्षाकेन्द्र रहेका सबै विद्यालय सुविधासम्पन्न रूपमा निर्माण भएको जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का प्रमुख यमबहादुर खड्काले जानकारी दिनुभयो । परीक्षा केन्द्र कायम भएका सबै विद्यालय निर्माण सम्पन्न भएका छन् । यस वर्ष परीक्षार्थीलाई कुनै असहज नहुने प्रमुख खड्काले जिकिर गर्नुभयो ।

हेलम्बुका विद्यालयमा करेसाबारी
हेलम्बु गाउँपालिकाले सामुदायिक विद्यालयमा अनिवार्य करेसाबारीको अवधारणा लागू गरेको छ । सो कार्यक्रम लागू भएपछि पत्रुखाना खानुपर्ने विद्यार्थीको बाध्यता हटेको छ ।

भूमेश्वरी माध्यामिक विद्यालय हेलम्बु–२ किउलमा अध्ययनरत करुणा गुरागाईँ हिजोआज निकै खुशी हुनुहुन्छ । करेसाबारी कार्यक्रमले आफूहरूलाई पढ्न निकै सजिलो बनाएको उहाँको भनाइ छ । करुणाले भन्नुभयो, “खुशी लागेको छ, हामीलाई सजिलो भएको छ । लेख्नका लागि प्राक्टिकल पनि भइरहेको छ । अहिले हामीले करेसाबारीमा काम गरिहेका छौँ, भोलिपर्सि यहाँ फलेको चिज हामीलाई खाजा पनि हुन्छ । बाहिर किन्दा एक त पैसा खर्च हुन्छ, अर्को जङ्क फुड स्वास्थ्यका लागि राम्रो पनि होइन ।”

करुणा जस्तै यहाँका सबै शिक्षक, विद्यार्थी र अभिभावक करेसाबारीको अवधारणाबाट खुशी छन् । विद्यालय हाताभित्र आफैँले मेहनत गरी उत्पादन गरिएको ताजा तरकारी खान पाउँदा खुशी लागेको अर्का विद्यार्थी सुधा गुरागाईंले बताउनुभयो । सुधाले भन्नुभयो, “अब हामी सबैको पेशा एउटै हुँदैन । घरमा काम गर्दा पनि यसले सहयोग पु¥याएको छ । परीक्षामा लेख्न पनि धेरै सजिलो भएको छ । पढेको मात्रै भन्दा देखेको सजिलो हुन्छ नि त ।”

गाउँपालिकाले रु ४५ लाख बजेट विनियोजन गरेर ३४ सामुदायिक विद्यालयमा करेसाबारी कार्यक्रम शुरुआत गरेको हो । सो कार्यक्रमका लागि विद्यालय हाताभित्र अभिभावक, विद्यार्थी र शिक्षकले नै विभिन्न किसिमका तरकारी उत्पादन गर्न थालेका छन् । तरकारी उत्पादनका लागि अभिभावकले प्राङ्गारिक मल राख्ने, बीउ उमार्ने, टनेल हाल्ने, बीउ रोप्नेजस्ता काममा सहयोग गरेका छन् ।

सातधारा आधारभूत विद्यालयका शिक्षक सोम ज्योतिले भन्नुभयो, “गाउँपालिकाले विशेषगरी खाजा कार्यक्रमलाई लक्ष्य गर्दै किचन गार्डेन बनाउनाका साथै तरकारी उत्पादनका लागि गाउँपालिकाको पत्राचारअनुसार हामीले विद्यालयमा बीउबिजन उत्पादन गरेका छौँ ।”

विद्यालयमा बनिबनाउ खानेकुराको प्रयोग बढेपछि नियन्त्रणका लागि गाउँपालिकाका प्रत्येक विद्यालयमा करेसाबारी कार्यक्रम लागू गरिएको गाउँपालिकाले जनाएको छ । अभिभावकलाई कृषिमा आत्मनिर्भर बनाउने र विषादीरहित खानेकुरामा प्रोत्साहन गर्ने उद्देश्यका साथ सो कार्यक्रम सञ्चालन गरिएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “खाजा कार्यक्रम छ, नेपाल सरकारको । तरकारी कि त किनेर खुवाउनुपर्छ । प्रत्येक विद्यालयमा अहिले किचन गार्डेन भनेर गाउँपालिकाले लगानी गरेर ग्रिनहाउस दिएको छ, बनाउन सिकाइरहेका छौँ, बीउ दिएका छौँ । उहाँहरूलाई बोलाएर तालीम दिइरहेका छौँ ।” चौँतीस सामुदायिक विद्यालयमा शुरु गरिएको सो कार्यक्रमबाट झण्डै छ हजार बालबालिका लाभान्वित भएका छन् ।

तपाईको प्रतिक्रिया