सहकारीले बढाउँदै ग्रामीण महिलाको आयस्तर

  फागुन २९, २०७६

डोटी, फागुन २९ : डोटीको पुर्वीचौकी गाउँपालिकाकी उपाध्यक्ष निर्मला साउद स्थानीय स्तरमा नमूना बाख्रापालक कृषकको रुपमा पनि चिनिनुहुन्छ । डोटीको पुर्वीचौकी गाउँपालिका –७ पोखरीमा रहेको पोखरी बहुउद्देश्यीय सहकारी संस्थाको सेयर सदस्य समेत रहनु भएकी साउदले सहकारीवाट नियमित बचत तथा ऋणको कारोबार समेत गरिरहनु भएको छ ।

समुदाय स्तरमा ब्यवसाय सञ्चालनका लागि सहज रुपमा ऋण र बचतको कारोबार हुन थालेपछि सो क्षेत्रमा उपाध्यक्ष साउद जस्तै अधिकांश ग्रामीण महिलाको रोजाईमा सहकारी पर्न थालेको छ । उपाध्यक्ष साउदले भन्नुभयो,–‘महिलाहरु आर्थिक रुपमा सक्षम नभए पनि स्वतन्त्र हुन सक्दैनन, स–सानो खर्चको लागि पनि पुरुषसँग हात थाप्न थालेपछि घर परिवारमा महिलाले स्वतन्त्र रुपमा निर्णय गर्न सक्दैनन् ।’

सहकारी मार्फत सदस्यहरुमा नियमित सहकारी शिक्षा, वित्तिय साक्षरता विभिन्न सीपमुलक तालिम कार्यक्रम समेत सञ्चालन हुदै आएका छन् । पोखरी बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक उदयसिं साउदले भन्नुभयो, –‘बचत तथा ऋण, लगायतका क्षमता बिकासका कृयाकलापमा सहभागी हुनका लागि सहकारीमा सेयर सदस्य हुनु अनिवार्य गरिएको छ । एक पटकमा ५० हजार सम्म बिना धितो सेयर सदस्यहरुले सहकारीवाट ऋण लिन सक्छन् ।’

पोखरी बहुउद्देश्यीय सहकारी संस्थामा साविकको पोखरी गाउँ विकास समितीका १ हजार २१ जना सेयर सदस्य रहेको बताईएको छ । सहकारी सस्थामा हाल १ करोड ९२ लाख पुँजी रहेको छ । सहकारी सँस्था मार्फत ऋण लिएका महिलाहरुले बाख्रापालन, खुद्रा पसल, सिलाईकटाई, तरकारी खेती, भैसिपालन, कुखुरापालन लगायतका स–साना ब्यवसाय सञ्चालन गरिरहेका छन् । निकट भबिष्यमा नै सहकारी सँस्थाले सदस्यहरुवाट उत्पादित बस्तुहरुको सँकलन गरेर बजारिकरण, तथा सदस्यहरुको सहजताको लागि रेमिट्यान्स सेवा सञ्चालनको तयारीमा रहेको सहकारी सँस्थाका अध्यक्ष केशव ढाँटले बताउनुभयो ।

सहकारीको क्षमता बिकास लगायत घुम्तीकोष परिचालनमा गुड नेवर्स ईन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन भईरहेको सामुदायिक विकास परियोजना अन्तरगत सामुदायिक विकास मञ्च डोटीले गर्दै आएको छ । सामुदायिक बिकास परियोजना अन्तरगत सेयर सदस्यहरुको ब्यवसायिक योजनाका आधारमा ५० लाख २९ हजार २७९ रुपियाँ प्राप्त भएको सहकारी सँस्थाले जानकारी दिएको छ ।

सामुदायिक बिकास मञ्च डोटीले गुड नेवर्स इन्टरनेशनलको आर्थिक तथा प्राबिधिक सहयोगमा दिपायल सिलगढी नगरपालिका –८ लडागडा र पुर्वीचौकी गाउँपालिकाका विभिन्न सात वटा सहकारी संस्थाहरुको क्षमता विकास घुम्तीकोष परिचालन लगायतका क्षेत्रमा सहयोग गरिरहेको छ ।

तपाईको प्रतिक्रिया