ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु

  फागुन २८, २०७६

दमौली, फागुन २८  : तनहुँको बन्दीपुर गाउँपालिका–५ कोरिखामा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बन्दीपुर गाउँपालिकास्थित बाहुनभञ्ज्याङबाट याम्पातर्फ आउँदै गरेको ग १ त ४८०८ नं को ट्र्याक्टर दुर्घटना हुँदा ट्र्याक्टर चालक र सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

मृत्यु हुनेमा ट्र्याक्टर चालक गोरखा पालुङटार नगरपालिका–७ च्यांलीका २२ वर्षीय प्रेम कुमाल र सहचालक बन्दीपुर गाउँपालिका–४ नयाँपुलका २२ वर्षीय राजकुमार परियार रहेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । सडकबाट १५० मिटर तल ट्र्याक्टर खस्दा चालकको घटनास्थलमै र सहचालकको उपचारको क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया