ट्यालेन्ट हन्टबाट विभत्सु र आरियो छनोट

  फागुन २८, २०७६

काठमाडौं, फागुन २७ : ललितपुर पयाट्रियट्सले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) टि–२० क्रिकेट प्रतियोगिताका लागि ट्यालेन्ट हन्टबाट दुई खेलाडी छनोट गरेको छ । छनोट हुनेमा विभत्सु थापा र आरियो पौडेल रहेका छन् ।

ललितपुरले इमाडोलमा आयोजना गरिएको ट्यालेन्ट हन्टबाट विभत्सु र आरियोलाई छनोट गरिएको हो । इपीएलको नियमानुसार हरेक टोेलीले ट्यालेन्ट हन्टबाट दुई खेलाडी छनोट गर्नुपर्ने हुन्छ । छनोटमा परेका विभत्सु ब्याट्सम्यान तथा आरियो बलर हुन् ।

कोरोना भाइरसको कारण इपीएल अनिश्चितकालका लागि स्थगित गरिएको छ । यसअघि इपीएल त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा अगामी चैत १ गतेदेखि तय गरिएको थियो ।

ललितपुर पयाट्रियट्स र पोखरा राइनोजबीच उद्घाटन खेल खेलाइने निश्चित गरिएको थियो । यसअघि ललितपुरले विदेशी खेलाडीका रुपमा उपुल थरङ्गा, हसन खान, हमाद आजम र मिर हाम्जालाई आफ्नो टिममा भित्र्याइसकेको छ ।

ललितपुरको कप्तानमा ज्ञानेन्द्र मल्ल तथा प्रशिक्षकमा राजु बस्न्यात छन् । इपीएलमा ललितपुरसँगै काठमाडौं किङ्गस इलाभेन, विराटनगर वारिवर्स, चितवन टाइगर्स, पोखरा राइनोज तथा भैरहवा ग्ल्याडियटर्स रहेका छन् ।

तपाईको प्रतिक्रिया