‘स्मार्ट लाइसेन्स’ वितरण गरिँदै

  फागुन २६, २०७६

अत्तरिया, २६ फागुन : लामो समयदेखि वितरणमा ढिलाइ भइरहेको ‘स्मार्ट ड्राइभिङ लाइसेन्स’ वितरण शुरु गरिएको छ । कागजी लाइसेन्स हटाएर देशव्यापीरुपमा स्मार्ट लाइसेन्सको वितरण थालेपछि माग र छपाइको सन्तुलन नमिल्दा सेवाग्राहीले समयमै स्मार्ट लाइसेन्स पाउन सकेका थिएनन् ।

यातायात व्यवस्था विभागमै कार्ड छपाइ शुरु भएसँगै सेवाग्राहीले धमाधम स्मार्ट लाइसेन्स पाइरहेका छन् । यातायात व्यवस्था कार्यालय धनगढीले मात्रै हालसम्म २५ हजार स्मार्ट लाइसेन्स वितरण गरिसकेको जनाएको छ । यातायात व्यवस्था विभागले २०७४ सालदेखि लाइसेन्सको स्मार्ट कार्ड वितरण गर्न शुरु गरेको थियो ।

कागजी लाइसेन्स हटाएर नयाँ व्यस्था शुरु भएसँगै स्मार्ट कार्डको लागि लाखौँ सेवाग्राहीले आवेदन दिएका थिए । यातायात व्यवस्था कार्यालय धनगढीमा मात्रै एक लाखको हाराहारीमा आवेदन परेका जनाइएको छ । लाइसेन्सको माग र छपाइको सन्तुलन नमिल्दा सेवाग्राहीले आवेदन दिएको दुई वर्षसम्म स्मार्ट लाइसेन्स पाउन सकेका थिएनन् ।

स्मार्ट लाइसेन्स वितरणमा ढिलाइ हुँदा आजित बनेका सेवाग्राही पनि अहिले भने यातायात व्यवस्था कार्यालय धाउन थालेका छन् । स्मार्ट लाइसेन्स वितरण भइरहेको जानकारी पाएपछि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाबाट पनि यातायात व्यवस्था कार्यालय पुग्ने गरेका छन् । अब स्मार्ट लाइसेन्स हातमा परेपछि ट्राफिक झन्झट र दुर्घटनाको जोखिमबाट राहत पाइने सेवाग्राही प्रेम बोहराले बतानुभयो ।

यातायात व्यवस्था कार्यालयमा मात्रै हाल विभागले ३५ हजार स्मार्ट लाइसेन्स वितरणका लागि पठाएको छ । जसमध्ये हालसम्म २५ हजार बढी वितरण भइसकेका छन् । बाँकी आवेदनका आधारमा लाइसेन्स छपाइको काम भइरहेको यातायात व्यवस्था कार्यालयले जनाएको छ । विभागले आफैँ कार्ड छाप्न शुरु गरिसकेपछि हाल स्मार्ट लाइसेन्स वितरणले गति लिएको यातायात व्यवस्था कार्यालयका प्रमुख लक्ष्मण शाहले जानकारी दिनुभयो ।

आधुनिक प्रविधि, उत्कृष्ट गुणस्तर, नक्कली छाप्न नमिल्ने, आगोले नजल्ने, अक्षर नमेटिने, सेवाग्राहीमैत्री र इ–गभर्ननेन्स लागू गर्न स्मार्ट लाइसेन्स सहयोगी हुने अपेक्षा गरिएको छ । विगतमा वितरणमा ढिलाइ देखिए पनि अब भने यातायात व्यवस्था विभागले आफैँ छपाइ शुरु गरेसँगै वितरणमा केही सहजता देखिएको छ ।

तपाईको प्रतिक्रिया