मनाङ आहा राराको अन्तिम चारमा

  फागुन २६, २०७६

कास्की, फागुन २५ : मनाङ मस्र्याङ्दी क्लब पोखरामा जारी १८ औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालाभित्रको फुटबल रङ्गशालामा आज झापा ११ फुटबल क्लब माथि १–० को साँघुरो अन्तरको जीत निकाल्दै मनाङ प्रतियोगिताको अन्तिम चारमा प्रवेश गर्न सफल भयो । प्रतिष्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएकामा खेलको ७६ औँ मिनेटमा अन्जन विष्टको गोलमार्फत मनाङले खेलमा अग्रता बनायो ।

मैदानको दायाँ भागबाट आएको बललाई विष्टले डिवक्स नजिकबाट दोस्रो बारमा प्रहार गरेको बलले जाली चुमेको थियो । खेलमा विष्टको एक मात्र गोलनै निर्णायक बन्यो र झापा प्रतियोगिताको क्वाटर फाइनलबाटनै बाहिरियो । सेमिफाइनलमा अब मनाङले त्रिभुवन आर्मी क्लब र सङ्कटाबीचको खेलको विजेतासँग खेल्नेछ ।

खेलमा दुवै टोलीले गोलका केही सुन्दर मौका प्राप्त गरे पनि सदुपयोग गर्न सकेनन् । पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा झापाका सुनिल खड्काको शक्तिशाली प्रहारलाई मनाङका गोलकिपर अशोक बरालले मुस्किलले पञ्च गरेर बाहिर फाल्नुभएको थियो । नियमित समयको अन्तिम मिनेटमा मनाङका फरवार्ड विमल रानाले ‘वान भर्सेस वान’ को अवस्थामा गोल गर्न असफल हुनुभयो । खेलमा निर्णायक गोलकर्ता मनाङका विष्ट ‘म्यान अफ दि म्याच’ घोषित हुँदै रु पाँच हजार तथा ट्रफी पुरस्कार प्राप्त गर्नुभयो ।

खेलपछिको पत्रकार सम्मेलनमा पराजित टोलीका प्रशिक्षक सन्तोष गुरुङले टोलीका सरोज कार्की, अङ्कुर तामाङ र प्रमोद चौधरी घाइते भएकाले प्रदर्शनमा असर पुगे पनि समग्रमा खेल राम्रो रहेको प्रतिक्रिया दिनुभयो ।

मनाङका विदेशी प्रशिक्षक फुजा टोपेले खेलमा जीत हात पारेपनि खेलाडीको खेलबाट आफू सन्तुष्ट हुन नसकेको बताउनुभयो । धरानमा खेलेको पाँच दिनपछि पोखरामा खेल्न आएको र खेलाडीलाई बढी आराम भएको र अभ्यास नहुँदा प्रदर्शन सोचेअनुसार नभएको उहाँको भनाइ थियो । प्रतियोगिताअन्तर्गत सोमबार थ्रीस्टार क्लब र गान्टोक सिटी फुटबल क्लबबीच खेल हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको २०० औँ खेल पूरा
विसं २०५८ फागुन ७ गते क्याराभान गोल्डकपका नामबाट सहारा क्लबले प्रतियोगिता आयोजना शुरुआत गरेकामा आज मनाङ र झापाबीचको खेल २०० औँ बन्न पुगेको छ । क्याराभान गोल्डकपबाट शुरु भएको प्रतियोगिता त्यसपछिका हरेक संस्करणलाई यहाँको औद्योगिक घराना हिमश्री फुड्सको उत्पादन आहा रारा चाउचाउले मुख्य प्रायोजन गर्दै आएको छ । विसं २०५९ देखि प्रतियोगिता आहा राराको नामबाट सञ्चालन हुँदै आएको हो ।

यस प्रतियोगिता मोफसलको एक प्रतिष्ठित र नियमित सञ्चालन हुने प्रतियोगिताको रुपमा स्थापित भएको छ । क्लबले २०० औँ खेलका अवसरमा खेलाडीलाई मायाको चिनो तथा मैदानमा बेलुन उडाएर खुशियाली मनाएको थियो । प्रतियोगिताबाट बचत रकम क्बबले पोखरा–१७ दोविल्लामा क्लबद्वारा सञ्चालित सहारा फुटबल एकेडेमीका बालकहरुका लागि खर्च गर्दैै आएको अध्यक्ष केशवबहादुर थापाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया