विश्वका १०१ मुलुकमा कोभिड–१९, तीन हजार ५९५ को मृत्यु

  फागुन २५, २०७६

पेरिस, फागुन २५ : विश्व स्वास्थ्य संगठनले आइतबार बिहान दिएको तथ्यांकअनुसार कोभिड–१९ विश्वका १०१ मुलुकमा फैलिइसकेको छ ।

विश्वभर एक लाख पाँच हजार ८३६ पुगेको छ भने यसका कारण तीन हजार ५९५ व्यक्तिको मृत्यु भएको छ । ग्रिनविच समयानुसार शनिबार साँझ ५ बजेपछि करिब २४ घण्टामा विश्वभर थप संक्रमितको संख्या एक हजारभन्दा बढी रहेको र ३९ जनाको मृत्यु भएको बताइएको छ ।

डिसेम्बरमा चीनको मध्य क्षेत्रमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएपछि विश्वभर चिन्ताको विषय बनेको यस स्वास्थ्य समस्याका कारण एशियामा सबैभन्दा बढी ८९ हजार ५२५ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमणका कारण शनिबारसम्म एशियामा तीन हजार १६२ जनाको मृत्यु भएको छ ।

त्यस्तै युरोपमा कोभिड–१९ संक्रमित संख्या नौ हजार ६६५ रहेको छ भने २६३ जनाको मृत्यु भएको छ । मध्यपूर्वमा छ हजार १५८ संक्रमित व्यक्ति रहेका छने भने १४९ को मृत्यु भएको छ । अमेरिका र क्यानडामा गरी कूल २७० जनामा संक्रमण पुष्टि भएको छ भने १६ जनाको मृत्यु भएको छ ।

चीनमा नयाँ संक्रमण र मृत्युदर घट्ने क्रम जारी
सबैभन्दा पहिले कोभिड–१९ को संक्रमण भएको भनिएको मुख्यभूमि चीनमा डिसेम्बरदेखि शनिबारसम्ममा ८० हजार ६९५ व्यक्तिमा संक्रमणको पुष्टि भएको छ भने यसबाट सो अवधिमा यहाँ तीन हजार ९७ जनाको मृत्यु भएको छ ।

शनिबार साँझ ५ बजेपछि करिब १८ घण्टाको अवधिमा चीनमा थप संक्रमितको संख्या ४४ रहेको छ भने यही समयमा कोरोना संक्रमणका कारण २७ जनाको मृत्यु भएको छ । चीनमा करिब २० दिनपहिले संक्रमणका कारण एकै दिनमा दुई सयभन्दा बढीको मृत्यु हुने गरेको थियो ।

अहिलेसम्म चीनबाहिर संक्रमितको संख्या २५ हजार १४१ रहेको छ भने ४९८ जनाको मृत्यु भएको छ । त्यस्तै शनिबार साँझ ५ बजेपछि समाचार तयार पार्दासम्म करिब १८ घण्टामा विश्वभर थप ८८९ जनामा संक्रमण पुष्टि भएको र यो समयमा १२ जनाको मृत्यु भएको बताइएको छ ।

कोरोनाभाइरसका कारण चीनपछि सबैभन्दा बढी प्रभावित पाँच मुलुकमा क्रमशः दक्षिण कोरिया, इटली, इरान, फ्रान्स र जर्मनी रहेका छन् । दक्षिण कोरियामा सात हजार ३१३ संक्रमित रहेका छन् भने ५० जनाको मृत्यु भएको छ । इटलीमा पाँच हजार ८८३ संक्रमित भएका छन् भने २३३ को मृत्यु भएको छ । इरानमा पाँच हजार ८२३ जनामा संक्रमण पुष्टि भएकामा १४५ जनाको मृत्यु भएको छ ।

त्यस्तै जापानमा शनिबारसम्म फ्रान्समा ९४९ संक्रमितमध्ये १६ जनाको अहिलेसम्म मृत्यु भएको छ । जर्मनीमा फेब्रुअरीको अन्तिम दिनसम्म ६६ जनामा संक्रमण पुष्टि भएकामा यो संख्या त्यसपछिको एक हप्ताको अन्तरालमा ६८४ पुगेको छ भने जापानमा विदेशी एक पानीजहाजमा संक्रमण भेटिएका यात्रुबाहेक कूल ४३८ जनामा संक्रमण पुष्टि भएको छ ।

दक्षिण कोरियामा मृत्यु संख्या नियन्त्रणमा
दक्षिण कोरियामा कोरोना भाइरस संक्रमण विगत २४ घण्टामा थप २७२ व्यक्तिमा पुष्टि भएको दक्षिण कोरियाली अधिकारीहरूले जनाएका छन् । यससँगै दक्षिण कोरियामा यस भाइरसबाट संक्रमितको संख्या सात हजार ३१३ पुगेको छ ।

विगत एक सातालाई मूल्यांकन गर्दा कोरियामा नयाँ संक्रमणदरमा निकै कमी देखिएको उल्लेख छ । यहाँ गत साताको मध्यतिर संक्रमण दर दैनिक ५०० भन्दा बढी रहेको थियो ।

कोभिड–१९ पनि भनिने यो भाइरसका कारण उक्त समयमा कसैको पनि मृत्यु नभएको दक्षिण कोरियाले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । यहाँको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार कोभिड–१९ संक्रमणका कारण देशभर ३६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । विश्वव्यापी चिन्ताको विषय बनेको यस भाइरसको संक्रमणका कारण भएको मृत्युदर ०.७ रहेको छ ।

दक्षिण कोरियाको डेगु शहर र उत्तरी ग्योङसाङ प्रान्तमा मात्र सात हजार १०३ व्यक्तिमा संक्रमण भेटिएको छ । यो दक्षिण कोरियामा संक्रमितमध्ये ९० प्रतिशतभन्दा बढी व्यक्ति यिनै दुई स्थानका व्यक्तिहरू रहेका छन् । राजधानी सियोल र ग्योंगी प्रान्तमा क्रमशः १२० र १४१ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । दक्षिण कोरियाले देशलाई कोरोनाभाइरस संक्रमणका कारण देशभर स्वास्थ्य आपत्कालको घोषणा गरी नियन्त्रण प्रयास गरिरहेको छ ।

करिब २५ लाख जनसंख्या रहेको डेगुलाई दक्षिण कोरियामा भाइरस संक्रमणको उद्गमस्थल मानिएको छ भने सरकारले यस क्षेत्रलाई संक्रमण खतराका दृष्टिकोणले ‘विशेष क्षेत्र’ घोषणा गरी नियन्त्रण अभियानमा जुटेको छ । डेगुमा रहेको धार्मिक अल्पसंख्यक समुदाय सिन्चोन्जीबाट चर्चमा प्रार्थनाका लागि पुगेका व्यक्तिबाट यो संक्रमण फैलिएको विश्वास गरिएको छ ।

दक्षिण कोरियामा संक्रमितमध्ये ७९.४ प्रतिशत व्यक्तिमा सामूहिकरूपमा संक्रमण भेटिएको र यसको ६२.८ अर्थात् चार हजार ४८२ संक्रमित व्यक्ति सिन्चोन्जी समुदायका रहेको कोरियाली स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

कोरियामा जनवरी ३ देखि संक्रमण परीक्षण शुरु गरिएको र मार्च ७ सम्ममा एक लाख ८८ हजारमा संक्रमण जाँच भएको र यसमध्ये एक लाख ६२ हजार व्यक्तिमा संक्रमण देखिएको छैन । बाँकी १९ हजारमध्ये सात हजार ३१३ मा संक्रमण पुष्टि भएको छ भने केहीको परीक्षण रिपोर्ट आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया