लुम्बिनीमा बौद्ध कला, साहित्य महोत्सव

  माघ २४, २०७६

रुपन्देही, २३ माघ : लुम्बिनीमा तीनदिने अन्तर्राष्ट्रिय बौद्ध कला, संस्कृति र साहित्य महोत्सव हुने भएको छ । प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र लुम्बिनी बौद्ध विश्वविद्यालयको सहकार्यमा महोत्सव हुने भएको हो ।

माघ २४ गतेदेखि २६ गतेसम्म हुने महोत्सवमा बौद्ध कला र साहित्यको प्रदर्शन तथा बौद्ध अध्ययनसम्बन्धी साहित्यको विविध विषयमा गोष्ठी हँुदैछ । बौद्ध कला, संस्कृति र साहित्यको महोत्सव नेपालमै पहिलोपटक आयोजना भएको हो । महोत्सवकै अवधिमा मोन्लाम पूजा, बौद्ध कला, संस्कृति तथा साहित्यको प्रदर्शनी हुने लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा तिलक आचार्यले जानकारी दिनुभयो ।

महोत्सवको पहिलो दिन माघ २४ गते बिहान लुम्बिनीमा शान्ति दौड हँुदैछ । दौडमा करीब ५०० जनाको सहभागिता रहने छ । शुक्रबार बिहान ११ बजे महोत्सवको प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले उद्घाटन गर्ने कार्यक्रम छ ।

शुक्रबारबाटै विश्वविद्यालय परिसरमा अक्षेश्वर महाविहारको संयोजनमा बौद्ध कलाको प्रदर्शनी हुनेछ । प्रदर्शनीमा बौद्धधर्म, संस्कृतिसम्बन्धी विभिन्न समुदायको कलाकृति राखिने जनाइएको छ । कार्यक्रममा बौद्धधर्म र संस्कृति झल्किने नृत्य गुन्ला, धिमे, चर्या नृत्य, योगी तथा अनुप्रासलगायतका कार्यक्रम हुनेछन् ।

माघ २५ गते मोन्लाम पूजा र योगासहित विविध बौद्ध विषयमा कार्यपत्र प्रस्तुत हुने कार्यक्रम तय गरिएको छ । पूर्वमन्त्री मोदनाथ प्रश्रित, पूर्वसभामुख दमननाथ ढुङ्गाना, पूर्वराजदूत खगनाथ अधिकारी, टङ्क कार्की, विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा त्रिरत्न मानन्धर, डा कुन्दन अर्याल, पुरातत्वविद् कोषप्रसाद आचार्य, वसन्त बिडारी, प्राज्ञ गोपीरमण उपाध्यायसहितका १६ विद्धानहरुले कार्यपत्र प्रस्तुत गर्ने विश्वविद्यालयका डीन प्रा डा वेदप्रसाद गिरीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया