शहीद स्मारक ए डिभिजन लिग : आर्मी शीर्ष स्थानमा

  माघ २४, २०७६

काठमाडौं, २३ माघ : राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरी बल (एपिएफ) क्लबलाई पराजित गर्दै अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको दोस्रो खेलमा आर्मीले एपिएफलाई २–१ गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो ।

आर्मीको जितमा सन्तोष तामाङ नायक बने । दुवै गोल सन्तोषले नै गरे । खेलको १६ औँ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै सन्तोषले पहिलो गोल गरे । कप्तान भरत खवासलाई डिबक्सभित्र एपिएफका डिफेन्डर रमेश दङ्गालले लडाएपछी आर्मीले पेनाल्टी पाएको थियो ।

त्यस्तै खेलको ३७ औँ मिनेटमा एपिएफका आशिष लामाले एक गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । तर खेलको ४२ औंँ मिनेटमा सन्तोषले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई २–१ को जित दिलाए । खेलमा आर्मी सन्तोष तामाङ म्यान अफ दि म्याच घोषित भए । जितसँगै आर्मीले ११ खेलमा २६ अङ्क जोडेको छ । त्यस्तै २५ अङ्क जोडेको मछिन्द्र फुटबल क्लब दोस्रो स्थानमा छ । अङ्क तालिकाको १३ औँ स्थाना रहेको एपिएफको ५ अङ्क छ ।

तपाईको प्रतिक्रिया