मातृशिशु जोगाउन बहुक्षेत्रीय पोषण कार्यक्रम लागू

  माघ २४, २०७६

जाजरकोट, २३ माघ : बालमृत्युदर तथा कुपोषणबाट बचाउनका लागि नलगाड नगरपालिकाले विशेष लगानी गरी काम थालेको छ । गर्भवती भएदेखि एक हजार दिनसम्मका महिला तथा नाबालकलाई यो कार्यक्रममा समेट्नका लागि नगरले यो कार्यक्रम शुगरेको हो ।

नगरभित्रका १३ वटा वडामा लागू भएको यो कार्यक्रमबाट प्रतिवडाबाट ३५ जना गर्भवती महिलालाई सुविधा दिइएको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिनुभयो । सरकारले दिँदै आएको सुत्केरीलाई यातायात खर्चमा नगरले एक हजार थपेर दिने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार प्रत्येक गर्भवती महिलालाई घ्यू, तेल र कुखुरासमेत उपलब्ध गराएको छ । कुखुरा उपलब्ध गराएसँगै औषधिसमेत दिइएको पोषण सम्पर्क व्यक्ति किरण थापाले जाजकारी दिनुभयो ।

त्यस्तै करेसाबारीमा ताजा तरकारी उत्पादन गर्नका लागि बीउका साथै तालीम दिइएको उहाँले जानकारी दिनुभयो । नियमित गर्भजाँचका साथै स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने महिलालाई मात्र यो सुविधा उपलब्ध गराएको छ । नगरपालिकाले बहुक्षेत्रीय पोषण योजना कार्यक्रम सञ्चालन गरी यस्ता गतिविधि सञ्चालन गर्दै आएको नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिनुभयो ।

‘घरघरमा झण्डा, गर्भवतीलाई अण्डा’ भन्ने नारासहित नगरले अर्को कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । गर्भवती भएको घरमा झण्डा गाडेर सूचकका आधारमा सेवासुविधा दिन शुगरिएको प्रमुख रावलले जानकारी दिनुभयो ।

स्वास्थ्य संस्था आउने बढ्दै
नगरपालिकामा बहुक्षेत्रीय पोषण कार्यक्रम लागू भई सेवा दिन थालेपछि नियमित स्वास्थ्य जाँच गर्ने गर्भवती महिलाको सङ्ख्या वृद्धि भएको छ । दैनिक घरायसी काममा मात्र व्यस्त हुने ग्रामीण क्षेत्रका महिला अहिले सेवासुविधा पाउने भएपछि नियमित स्वास्थ्य जाँच गराउन थालेको आधारभूत स्वास्थ्य तथा सरसफाइ शाखाका प्रमुख प्रचण्डकुमार कार्कीले जानकारी दिनुभयो ।

गाउँगाउँमा रहेका स्वास्थ्य संस्थामा स्वास्थ्यप्रति चिन्तित हुँदै गर्भवती महिला स्वास्थ्य जाँचका लागि आउने गरेको उहाँको भनाइ छ । स्वास्थ्य जाँच गरेर के हुन्छ र भन्ने गलत धारणा बिस्तारै हट्दै गई सुरक्षित सुत्केरी एवं पोषणमा समेत ध्यान दिन लागिएको छ । खेतीयोग्य जमीन भएर पनि करेसाबारी निर्माण नगर्ने तथा खाली राख्ने चलनसमेत बिस्तारै हट्दै गई करेसाबारीमा हरिया साग र तरकारी उत्पादन गर्नेतर्फ उन्मुख भएको नलगाड नगरपालिका–८ विष्णुकुमारी खत्रीले जानकारी दिनुभयो ।

नमूना बस्तीमा थप नमूना कार्यक्रम
नमूना बस्तीलाई थप नमूना बनाउनका लागि सबै प्रकारका सूचक पूरा गर्न नगरपालिका लागेको छ । खानेपानी, स्वास्थ्य, सरसफाइ, विद्युत्, सडक र विभिन्न पूर्वाधारका कार्यक्रमसमेत जोडेर थप नमूना बनाउन लागिएको हो ।

नमूना बस्तीमा गर्भवती तथा सुत्केरी महिलालाई विशेष योजना बनाई कार्यक्रम सञ्चालन गरिएको नगरउपप्रमुख बालकुमारी बस्नेतले जानकारी दिनुभयो । न्यायमा समानताका आधारमा दैनिक कार्य सञ्चालन गरी महिला तथा बालबालिकाको जीवनस्तर माथि उठाई नमूना नगर बनाउने अभियान जारी रहेको उहाँको भनाइ छ ।

जिल्लाको उत्कृष्ट नगरका रुपमा उदीयमान भएको नलगाडलाई थप विकास र समृद्धिका हिसाबले दुनियाँको आँखा लगाउने बनाउनु हाम्रो लागि मुख्य एजेन्डा भएको उहाँको दाबी छ ।

तपाईको प्रतिक्रिया