ट्रमा सेन्टरमा औषधालय विस्तार गरिने

  माघ २१, २०७६

काठमाडौं, २१ माघ : राष्ट्रिय ट्रमा सेन्टरले औषधि पसल विस्तार गर्ने तयारी गरेको छ । अस्पतालको आन्तरिक स्रोत बढाउन हाल एउटा मात्रै पसल रहेकामा थप दुईवटा सञ्चालनको तयारी गरेको छ । अस्पताल प्रशासनले एउटा शल्यक्रिया कक्ष नजिक, एउटा आकस्मिक कक्ष र अर्को गेटबाट छिर्नासाथ पसल स्थापना गर्ने जनाएको छ । माथिल्लो तहमा रहेका पसलले अस्पतालमा रहेका बिरामीलाई थप सहज हुने अस्पतालका कामु प्रमुख मेडिकल सुपरटेन्डेन्ट प्रमोदकुमार यादवले बताउनुभयो । अस्पताल प्रवेश गर्नासाथको पसल यहाँका बिरामी मात्रै नभएर बाहिरबाट आएका बिरामीलाई समेत लक्षित हुने उहाँको भनाइ छ ।

अस्पतालले सहुलियत दरमा औषधि बिक्री गर्दासमेत त्यो रकम अस्पतालका लागि आन्तरिक आम्दानी हुनसक्ने उहाँले बताउनुभयो । उहाँका अनुसार उक्त आम्दानी अस्पतालले दैनिक ज्यालादारी कर्मचारीको सुविधामा वा अस्पतालकै लागि खर्च गर्न सक्नेछ । उहाँले भन्नुभयो, “बाहिर उपचार गराइरहेका बिरामीलाई समेत सहुलियतमा औषधि पाउने हुँदा सहज हुनसक्छ ।”
अस्पतालमा अहिले रहेको औषधि पसल बाहिरबाट देखिने ठाउँमा नभएकाले गेटबाहिरैबाट देखिने स्थानमा सार्ने तयारी भइरहेको पनि यादवले बताउनुभयो । बाहिर महँगो क्लिनिक वा नर्सिङ होममा उपचार गराइरहेका बिरामीसमेत सस्तो मूल्यमा औषधि किन्न अस्पताल आउने विश्वास गरिएको छ ।

विभिन्न खालका घाइतेको एकै ठाउँमा उपचार गर्ने उद्देश्यले स्थापना भएको सो अस्पताल विस्तार र स्तरोन्नतिको समेत तयारी भइरहेको छ । सबै प्रदेशमा ट्रमा सेन्टर स्थापना हुँदा यसलाई अनुसन्धान केन्द्रका रूपमा विकास गर्दै जाने लक्ष्य लिइएको अस्पताल प्रशासनले जनाएको छ ।

तपाईको प्रतिक्रिया